पत्रकारिता दिवसको अवसरमा रेडियो सञ्चालकबीच छलफल
हेटौंडा । पत्रकारिता दिवसको अवसरमा हेटौंडामा रहेको रेडियो बुलेटिनले मकवानपुरका एफएम सञ्चालकसँग छलफल गरेको छ ।
पछिल्लो समय कोभिड १९ बाट सबै क्षेत्र प्रभावित भएको अवस्थामा मकवानपुरमा रहेका रेडियो सञ्चालकहरुले ब्यहोरेका समस्यामाथि बुधबार छलफल भएको हो।
छलफलमा सरकारले अहिलेसम्म स्वास्थ क्षेत्रका लागि समेत प्रयाप्त बजेट नछुट्याएको बताउँदै मिडियाका लागि राहतका कार्यक्रम ल्याउन रेडियो मकवानपुरका सञ्चालक महालक्ष्मी डिना उपाध्यायले सरकारसँग आग्रह गरिन् ।
यस्तै व्यवसाय आफ्नो ठाउँमा भए पनि यो विषम् परिस्थितिमा सबै मिलेर जानुको विकल्प नभएको रेडियो थाहाका सञ्चालक अरुणराज सुमार्गीले बताए ।
यसैगरी हेटौडा एफएमका प्रबन्ध निर्देशक उज्ज्वल चौलागाईले सबै स्थानीय सरकारले बजेट दिएर त्यो वापत सूचनाहरु प्रसारण गर्न रोयल्टिमा शून्य प्रतिशतमा झार्न र नविकरणमा छुट गर्न राज्यसँग माग गरे ।
कार्यक्रममा सबै रेडियोहरु मिलेर जानुको विकल्प नभएको बताउदै अबको दिनमा कसरी सबै स्थापित हुन सकिन्छ भनेर गृहकार्य शूरु गर्नुपर्ने रेडियो सन्देशका प्रबन्ध निर्देशक सुनिल खड्काले बताए ।
रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातीले कार्यक्रमको अध्यक्षता गर्दै रेडियोले हरेक महिना सामाजिक कार्य गरिरहेको बताए । उनले यसैक्रममा रेडियो सञ्चालक बीच छलफल कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रकको सहजीकरण रेडियो बुलेटिनका समाचार प्रमुख मसान उपासकले गरेका थिए ।

बाइलाइन नेपाल











