कोरोनाबाट बच्न प्रदेश नै एक साता सिल गरिने

बाइलाइन नेपाल
२३ बैशाख २०७७, मंगलवार ०७:०२

अहिलेसम्म कोरोना भाइरसबाट सुरक्षित रहेको कर्णाली प्रदेशलाई थप सुरक्षित बनाउन एक साता पूर्णरुपमा सिल गरिने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले कर्णाली प्रदेशका सबै सीमा नाका एक साताका लागि पूर्णरुपमा ठप्प पार्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशसँग सीमाना जोडिएको ५ नं. प्रदेशको बाँकेमा एकैपटक ठूलो संख्यामा कोरोना सङ्क्रमितहरु फेला परेपछि कर्णाली प्रदेशले यो निर्णय गरेको हो ।

बैठकले प्रदेशका १० जिल्लाका २७ स्थानहरुमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउने निर्णय पनि गरेको छ । सो टोलीले सम्भावित विरामीहरुको पहिचान गर्नका लागि स्वाब संकलनका साथै दु्रत परीक्षणसमेत गर्ने जनाइएको छ ।

सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा कोरोना संक्रमित नदेखिए पनि छिमेकी जिल्लाहरुमा फेला परेको हुँदा जोखिममा रहेकाले प्रदेश विपद व्यवस्थापन केन्द्रले हाललाई एक साता नाकाहरु सिल गर्ने निर्णय गरेको बताउनुभयो । सोमबार राति १२ बजेदेखि उक्त निर्णय कार्यान्वयन हुने बताइएको छ ।

मन्त्री रावलले सीमा नाकाहरुलाई बढी प्राथमिकता दिएर विशेषज्ञ चिकित्सकहरु खटाइने पनि जानकारी दिनुभयो । साथै यो अवधिमा परीक्षण र उपचारको दायरासमेत बढाइने उहाँको भनाइ छ ।

सल्यानको कपुरकोट र सुर्खेतको बबई तथा कुइने नाकालाई बढी केन्द्रित पारिएको छ । ५ नं. प्रदेश र सुदूरपश्चिम प्रदेशसँग जोडिएका यी नाकाबाट सामान तथा मानिसहरु बढी आउने भएकोले रोक लगाइएको छ । अव यी नाकाहरु एक सातासम्म पूर्णरुपमा बन्द गरिनेछ । एक सातामा प्रदेशमा कुनै पनि सवारीसाधनहरु भित्रिने छैनन् । गोरखापत्र दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*