थाहा नगरको तरकारी बिक्रीमा सहकारी संघको चासो
हेटौंडा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण मकवानपुरको तरकारी उत्पादनको मुख्य क्षेत्र थाहा नगरको तरकारीको उचित बजार ब्यवस्थापनका लागी मकवानपुर जिल्ला सहकारी संघले बजारिकरण गर्ने भएको छ ।
थाहा नगरपालिकामा स्थानीय सहकारी र जिल्ला सहकारी संघबीच भएको छलफलमा सहकारीहरुको समन्वयमा तकारीको बजार व्यवस्थापन गर्ने निर्णय गरिएको हो । सहकारीहरुको समन्वयमा किसामबाट खरिद गरि हेटौंडाका सहकारीमार्फत बिक्री गर्ने निर्णय भएको र त्यसको समन्वय मकवानपुर जिल्ला सहकारी संघले गर्ने जनाइएको छ ।
छलफलमा मकवानपुर जिल्ला सहकारी संघ अध्यक्ष नारायणप्रसाद देवकोटा, पदेन सदस्य बद्रीप्रसाद लम्साल, कोषाध्यक्ष विमलकुमार ढकाल, मकवानपुर जिल्ला बचत संघ सचिव वीरेन्द्र कुमार ढुंगाना, सदस्य फणिन्द्र सुवेदी, कृषि सहकारी संघ मकवानपुर सदस्य राजकुमार केसी, पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका उपाध्यक्ष कृष्णबहादुर बिष्ट, सचिब अरुण रायमाझी, श्री जनशक्ति कृषक सहकारी सस्थाका अध्यक्ष बिमल केसी लगायतको सहभागिता रहेको थियो ।
थाहा नगरका मेयर लवशेर विष्टले तरकारी ले उचित मूल्य र बजार नपाउँदा किसान मारमा परिरहेको बताए । उनले थाहा नगरमा उत्पादन भएको तरकारी अन्य पदेशमा समेत बिक्रीका लागि लैजानका लागि बाग्मती प्रदेश सकारकारसँग छलफल भइरहेको जानकारी दिए ।
थाहा नगरमा उत्पादन भएको तरकारी काठमाडौं, हेटौंडामा मात्र बिक्री गरेर खपत नहुने भन्दै मेयर विष्टले पोखरालगाउतका ठूला सहरमा पनि बिक्रीका लागि लैजाने वातावरण बनाउनका प्रदेश सरकारसँग कुरा भइरहेको बताए । अहिलेकै अवस्थामा किसान र उपभोक्ता मारमा पर्ने र बिचौलियाहरुले कमाउने काम भइरहेको उनले उल्लेख गरे ।
थानगरपालिकामा हाल काउली, बन्दा, मुला, खुर्सानी, गोलभेडा, धनियालगायतका तरकारीको उत्पदन भइरहेको छ । थाहा नगरसँगै मकवानपुरको हाँडिखोला, आमभञ्ज्याङ, हटियामा पनि तरकारी खेती हुने गरेको छ ।

बाइलाइन नेपाल











