लकडाउनको समयावधि भोलि सकिँदै, फेरि लम्बिएला ?
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ३४ दिन पुगेको छ । सरकारले लागू गरेको लकडाउन सोमबार मध्यराति देखि सकिँदैछ ।
अब फेरि लकडाउन होला कि नहोला भन्नेबारे सर्वत्र चासो छ । शनिबारमात्रै बसेको कोभिड १९ उच्चस्तरीय समन्वय समितिको बैठकले एक साता लकडाउन गर्ने प्रस्ताव गर्नुका साथै लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे समेत छलफल गरेको छ।
यद्यपी आज बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्नेछ ।
कोरोना भाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा कोरोना भाइरसको महामारी फैलिन पाएको छैन् । तर सबैक्षेत्र बन्द भएपछि जनजीवन भने प्रभावित भएको छ ।
तरपनि नागरिकले लकडाउनको पूर्णरुपमा पालना गरेका छन् । आइतबार काठमाडौं उपत्यकाका सडकहरुमा पुग्दा अत्यावश्यक ढुवानीका साधनहरु एवं अत्यावश्यक सेवाका सवारी साधनहरु चलेका थिए । सडकमा नागरिकको आवागमन देखिँदैन भने सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नबाहेक मानिसहरु बाहिर निस्केका छैनन् । सहरका मुख्य सडकहरु सुनसान छन भने चोकचोकमा बसेका सुरक्षाकर्मीले चेकजाँचलाई कडाई पारेका छन् ।
नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ । यस्तै १२ जना निको भइसकेका छन् । अहिले सम्म ९ हजार ६ सय १७ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । यस्तै १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा छन भने आइसोलेसनमा ८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाइलाइन नेपाल











