लकडाउनबारे निर्णय गर्न २ बजे मन्त्रिपरिषद बैठक

बाइलाइन नेपाल
१४ बैशाख २०७७, आईतवार १२:४६

काठमाडौं । लकडाउनका बारेमा ठोस निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनबारे विश्लेषण गरेको थियो । त्यसमा लकडाउनलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेलगायतका विभिन्न प्रस्तावमा छलफल भएको थियो ।

कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गत चैत ११ यता लगातार लकडाउन घोषणा गर्दै आएको छ । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका छन् । यसबारे मन्त्रिपरिषद बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ ।

भारतको अवस्था समेत ख्याल गर्नुपर्ने भएकाले आगामी एक साता यहि स्वरुपमा लकडाउनलाई निरन्तरता दिएर आगामीसाताबाट स्वरुप परिवर्तन हुनसक्ने एक मन्त्रिको भनाई छ ।

उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । लकडाउनका कारण कोरोना संक्रमण फैलन नपाएको समितिको ठहर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*