कोरोना भाइरस : नेपालमा १२ जना निको भएर घर फर्किए, अन्यको अवस्था के छ ?

बाइलाइन नेपाल
१४ बैशाख २०७७, आईतवार ०७:१६
फाइल फोटो

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४९ रहेको छ । ४९ जना मध्ये पनि १२ जना निको भएर घर फर्किसकेका छन् । शनिबार थप १ जना निको भएर घर फर्किएसँगै कोरोनाविरुद्धको लडाइँ जित्नेको संख्या १२ पुगेको हो ।

कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनःनेगेटिभ देखिएपछि शनिबार घर पठाइएको छ ।

अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षीय पुरुषलाई घर पठाइएको जानकारी दिएको हो ।

र्‍यापिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उनीसहित उनका दुई छोराको पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणका क्रममा आमा र २७ वर्षीय छोरामा कोरोना सङ्क्रमण देखिएको थियो । अर्का छोराको भने रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखेर फर्काइएको थियो ।

सङ्क्रमण देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा पुनःपरीक्षण गर्दा उनीमा सङ्क्रमण नभेटिएपछि २४ घण्टापछि पुनःपरीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । तिवारीका अनुसार दुवै परीक्षणमा सङ्क्रमण नदेखिएपछि उनलाई शनिबार घर पठाइएको हो । घर पठाइएपछि पनि उनी एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

आमाको उपचार भइरहेकाले उनी अस्पतालकै क्वारेन्टाइनमा बसेर आमाको रेखदेख गर्ने बताइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । सङ्क्रमितले आफ्नो मनोबल उच्च राखेका कारण छिटो निको भएको उनले बताए ।

उनी गत चैत ३ गते बेलायतबाट हङ्कङ नेपाल हुँदै आएका थिए । काठमाडौँको दुई दिनको बसाइपछि ५ गते चितवन पुगेका उनीहरुलाई वैशाख ३ गते र्‍यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद देखिएपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएर स्वाब परीक्षणका क्रममा वैशाख ५ गते सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।

हालसम्मको अवस्था

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*