राहत वितरण गर्ने क्रममा पर्सामा झडप, ८ जना घाइते
कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउन प्रभावितलाई भनेर पर्सामा राहत वितरणको विषयलाई लिएर झडप भएको छ ।
पर्साको जिराभवानी गाउँपालिकामा राहात वितरणको विषयलाई लिएर भएको विवादले झडपको रुप लिएको हो । झडपमा परेर ८ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पत्रकार पनि छन् ।
बुधबार दिउँसो राहात वितरणमा ढिलाइ भएको भन्दै स्थानीय व्यक्तिले गाउँपालिका कार्यालय घेराउ गरेपछि सशस्त्र प्रहरीले भीड हटाउन खोज्दा झडप भएको हो ।
झडपमा परेर घाइते भएकामध्ये नारायणी एफएमका संवाददाता कृष्ण मोहन साहको टाउकोमा चोट लागेको छ । उनीसहित घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।
लकडाउनको १ महिना पुग्दै लाग्दा गाउँपालिकाले पहिलोपटक स्थानीयलाई राहात वितरण गर्न लागेको थियो । तर, राहात वितरणमा पक्षपात गर्न खोजिएको तथा ढिलाइ गरिएको भन्दै स्थानीयले विरोध जनाएपछि झडपको स्थिति सिर्जना भएको हो ।

बाइलाइन नेपाल











