झापाका मस्जिदमा उच्च निगरानी, सबै धर्मगुरुको स्वास्थ्य परीक्षण

बाइलाइन नेपाल
६ बैशाख २०७७, शनिबार २०:३२

झापा । उदयपुरको त्रियुगा नगरपालिका– ३ झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड– १९ को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले झापामा रहेका ७० मस्जिदलाई उच्च निगरानीमा राखेको छ । विर्तामोड र दमक नगरपालिकामा रहेका दुई जमादमा मुस्लिम समुदायका २० धर्मगुरु रहेका छन् । उनीहरुमध्ये १८ भारतीय नागरिक हुन् । जमादमा भारतीय धर्मगुरु बस्ने हुँदा कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै प्रहरीले निगरानी बढाएको हो । जमादमा बस्ने सबै धर्मगुरुको आज नै स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विर्तामोडमा रहेको मामे मस्जित मुनवारमा नौ र दमकमा ११ मुस्लिम समुदायका धर्मगुरु बस्दै आएका छन् । उनीहरुको आज आरडिटी परीक्षण गरेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जीवन चम्लगाइँले जानकारी दिए । चम्लगाइँका अनुसार आरडिटी परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । दमकमा रहेको मस्जिदमा बस्ने धर्मगुरुसहित तीन कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत युवराज कट्टेलले जानकारी दिए ।

झापामा ७० मस्जिद र ४९ मदरसा रहेका छन् । जिल्लामा रहेका सबै मस्जिद र मदरसा सञ्चालकसँगको समन्वयमा धार्मिक कर्म अहिले बन्द गराइएको विर्तामोडस्थित जामे मस्जिदका सचिव एजाज अहमदले बताए ।

‘मुस्लिम समुदायमा जमाद आउने पराम्परा पुरानो परम्परा हो’, सचिव एजाजले भने, ‘झापामा दुई वटा मात्र जमाद छन्, जमाद अर्थात् मुस्लिम धर्मका अगुवाको समूह हो, उनीहरुले विभिन्न ठाउँमा रहेका मुस्लिम समुदायलाई मस्जिदमा आएर धार्मिक शिक्षा दिने गर्छन् ।’ एजाजका अनुसार जमादमा आउनेहरुले धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, धार्मिक शिक्षा हासिल गर्न लगाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्य र आफूले सिकेको ज्ञान अरुलाई सिकाउन प्रेरित गर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*