पूर्वराजा ज्ञानेन्द्रले उपलब्ध गराएको २ करोड रुपैयाँ राहत कोषमा जम्मा गरियो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको २ करोड रुपैयाँ कोरोना रोकथाम, राहत तथा उपचार कोषमा जम्मा गरिएको छ ।
हिमानी कोषले शाहबाट उपलब्ध २ करोड रुपैयाँ प्रधानमन्त्रीले स्थापना गरेको कोषलाई आइतबार हस्तान्तरण गरेको हो ।
हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेको कोषले एक विज्ञप्तिमार्फत जनाएको छ ।
रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र पूर्वराजाको चाहना रहेको जानकारी गराएको थियो ।
यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्ने जनाएको छ । केही दिनअघि मात्रै पूर्वराजा शाहले हिमानी कोषमार्फत सरकारले स्थापना गरेको कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका थिए ।

बाइलाइन नेपाल











