लकडाउनमा हेटौंडाः दूध भन्दै अटोमा मदिरा, एम्बुलेन्समा मेडिकलका स्टाफ
हेटौंडा । लकडाउनको समयमा बाग्मती प्रदेशको राजधानी हेटौंडामा मंगलबार फरकफरक घटना बाहिर आएका छन् । दूध ढुवानी सेवा भनेर अटोमा टाँसेर घरेलु मदिरा ओसार्दै गरेको फेला परेको छ । त्यस्तै बिमारी बोक्ने एम्बुलेन्समा मेडिकलका स्टाफ बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘दूध ढुवानी सेवा’ टाँसेर अवैध मदिरा लैजाँदै गरेको अवस्थामा मकवानपुर प्रहरीले अटोलाई नियन्त्रणमा लिएको छ।

लकडाउनको बेला मंगलबार बिहान हेटौंडाको चौकीटोल सडकमा ना १ ह ५३८१ नं. को अटोले ‘दूध ढुवानी सेवा’ भनि टाँसेर गढीगाउँपालिकाको सामरी तर्फबाट हेटौंडा आउँदै गरेको थियो। उक्त अटो चेक गर्दा अवैध मदिरा फेला परेको एसपी सुशीलसिंह राठौरले बताए।
मकवानपुरबाट खटिएको प्रहरी टोलीले दूधको ३ वटा खाली क्यान रहेको र सोही टेम्पोमा ६ वटा जर्किनमा अवैध घरेलु मदिरा १४० लिटर फेला पारेको थियो। उक्त अटो चालक, मदिरा, टेम्पोलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
यसैबीच, लकडाउनका बेला एम्बुलेन्स ‘मेडिकल स्टाफ’ बोकेर दौडिरहेको भेटिएपछि प्रहरीले हेटौंडाको सीमाचोकमा रोकेको नारायणी यातायात व्यवसायी कम्पनीको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
लकडाउनमा मेडिकल स्टाफका सवारी सञ्चालनमा रोक लगाइएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तर बजार अनुगमनमा कतिपय मेडिकल स्टाफ एम्बुलेन्समा आउने र एम्बुलेन्स चालकहरू तिनैलाई पर्खर बस्ने गरेको देखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
संघले लकडाउनको अवधीभर हेटौंडा अस्पतालका लागि सहयोग गरेको ना ४ च १७७७ नम्बरको एम्बुलेन्सले एक नीजि अस्पतालका मेडिकल स्टाफ बोकिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । ।
गल्ति भएको र अबका दिनमा मेडिकल स्टाफ नबोक्ने चालकको प्रतिबद्धतापछि एम्बुलेन्स छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । ।

बाइलाइन नेपाल











