स्वास्थ्य सामग्री अनियमितता प्रकरणमा अख्तियारको छानविन शुरू

बाइलाइन नेपाल
२० चैत्र २०७६, बिहीबार १९:१३

विवादास्पद स्वास्थ्य सामग्री खरिद प्रकरणमा बुधबार उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरू गरेको छ ।आयोगले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिनका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ समेत गरेको छ ।

बिहीबारदेखि उजुरीमाथि छानबिन थालेको अख्तियारले दिउँसो श्रेष्ठसँग अनौपचारिक बयान लिएको हो ।

‘दिउँसो त्यही एक दुई बजेतिर बोलाइएको थियो, आधा घण्टाजति परामर्श भएर म फर्किएँ,’ विभागका महानिर्देशक श्रेष्ठले भने, ‘स्वास्थ्य सामग्री खरिद प्रकियाकै विषयमा के भएको हो भन्नेबारे सोधपुछ भयो, नखाएको विष मलाई लाग्दैन म ढुक्क छु।’

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि सबै उजुरीजस्तै बुधबार आएको उजुरीको पनि आवश्यक प्रकिया अघि बढेको जानकारी दिए ।

‘आयोगमा आउने सबै उजुरीको कार्यविधि अनुसार आवश्यक प्रकिया अघि बढ्छ, उक्त उजुरीको पनि प्रकिया अघि बढेको छ, छानविनमा रहेका कतिपय उजुरीको बिषय प्रवक्तालाई पनि जानकारी हुँदैन, सो बिषयबारे मेरो जानकारीमा यति मात्रै छ,’ कोइरालाले भने ।

कोरोना भाइरसको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री बिना प्रतिस्पर्धा ओम्नी इन्टरनेशनललाई प्रचलित मूल्य भन्दा बढीमा ल्याउन दिने गरी सम्झौता भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्री विश्वभर नै अभाव भएको भन्दै विभागले २० प्रतिशतसम्म मूल्य बढी भएको स्वीकार गरेको थियो ।

स्वास्थ्य सामग्री एउटा समूहलाई मात्रै दिने विषय विवादित बनेपछि विभागले बुधबार सर्त भएअनुसारका सामग्री ल्याउन नसकेको भन्दै सम्झौता भंग गर्दै ५ करोड रुपैयाँ धरौटी समेत जफत गर्ने निर्णय गरेको थियो ।

विभागले ओम्नीसँग एक अर्ब ३४ करोड रुपैयाँको ठेक्का गरेको थियो । उसले २१ करोडको सामान ल्याइसकेको अवस्थामा बुधबार ठेक्का भंग गरिएको थियो ।

विभागको उक्त निर्णय भन्दाअघि स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै विभिन्द ७ बुँदे आरोपसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल विरुद्ध विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*