सञ्चारकर्मीलाई सुरक्षित रहन प्रेस संगठन मकवानपुरको अनुरोध
हेटौंडा । प्रेस संगठन नेपाल मकवानपुरले सञ्चारकर्मीहरुलाई सुरक्षित भएर सञ्चारकर्ममा लाग्न आग्रह गरेको छ । संगठन मकवानपुरका संयोजक प्रकाश दाहालले आज विज्ञप्ती जारी गर्दै विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरसबाट सुरक्षित रहेर काम गर्न मकवानपुरे सञ्चारकर्मीलाई आग्रह गरेका हुन् ।
विज्ञप्तीमा प्रेस संगठन सम्पूर्ण सदस्यहरु तथा मकवानपुरे सञ्चारकर्मीको स्वास्थ प्रति सदैव चिन्तित रहेको जानकारी गराउदै संसार नै महामारीको भूमरीमा परिरहेको बेला अत्यन्तै संवेदनशील भई तथा अत्यावश्यक परे मात्र रिपोर्टिङमा जानुहुन तथा सकेसम्म प्रविधि र स्रोतहरुको प्रयोगगरी समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।
‘कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सरकारले देशलाई लकडाउन गरिरहेको अवस्थामा हामी पत्रकारहरु समाचार सम्प्रेषण गर्नुपर्ने व्यवसायिक दायित्व पूरा गरिरहेका छौं । पत्रकार साथीहरुले लकडाउनलाई सफल पार्दै आफूपनि सुरक्षित हुँदै रिपोटिङ गरिरहनु भएको छ । हाल छापा माध्यमहरु पूर्ण रुपमा बन्द रहेको भएपनि विद्युतीय सञ्चार माध्यमहरु तथा अनलाइनहरुमा कार्यरत पत्रकार साथीहरु रिपोर्टिङ्गमा क्रियाशिल रहनुभएको छ । त्यसैले पहिलो प्राथमिकता आफु सुरक्षित हुनु अहिलेको अवश्यकता रहेको छ,– विज्ञप्तीमा उल्लेख छ ।

बाइलाइन नेपाल











