मुख्यमन्त्री पौडेलले भने–आजबाट हेटौंडामै कोरोनाको परीक्षण
हेटौंडा । विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण आज विहीबारबाट हेटौंडामा नै हुने भएको छ । हेटौंडामा भएको उपकरण सञ्चलन गर्ने विज्ञ र थप सामाग्री ल्याएर परीक्षण सुरु गर्न लागिएको हो । अब कोरोना भाइरसको परीक्षणका लागि काठमाडौं पठाउनु पर्ने बाध्यता हट्ने भएको छ ।
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै आजबाट हेटौंडामै कोरोनाको परीक्षण हुने जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्–संसार कोरोनाको कहरले भयवित भइरहेको बेला नेपाल सरकारले चालेको दुरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना भित्रिएर पनि फैलनबाट भने हामी जोगिएका छौं । हामीलाई विश्वास छ देशमा भएका सबै कोरोनाका संक्रमितहरु केहीदिन भित्र स्वास्थ्य लाभ गरी फर्कनेछन् र फेरी एक पटक हामी कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्ने छौं ।
विदेशबाटै कोरोना संक्रमित भएर आएका बाहेक स्वदेशमा कसैलाई पनि संक्रमण फैलन नदिनुलाई कसैको कृपासंग जोडेर हेर्नु भनेको नेपाली स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा अहोरात्र खटिएका सरकारका विभिन्न निकायका व्यक्तित्वहरुको योगदानको अवमुल्यन गर्नु हो । यति भनिरहदा कुनैपनि बेला कोरोना फैलनसक्ने सम्भावना जिवित नै छ । छिमेकी देश भारतमा नेपालको सिमासम्म कोरोना फैलिसकेको अवस्थामा हामी सचेत र सावधान हुनु आवश्यक छ । प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमण फैलन नै नदिनेगरी तयारी गरेको छ र यदि फैलिहाले त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण तयारी सकिएको जानकारी गराउँदछु ।
प्रदेश सरकारकै पहलमा आजबाट प्रदेश राजधानी हेटौंडाबाटै कोरोनाको परीक्षण गरिने समेत जानकारी गराउँदछु । हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्यावबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण भए नभएको को परीक्षण गरिने तयारी सकिएको छ । यस ल्याबबाट प्रत्येक दिन ७५ वटा सम्म नमूनाहरु परीक्षण गर्न सकिन्छ , ल्यावका आवश्यक सबै सामग्रीहरु र जनशक्ति हेटौंडा आइपुगी सकेको छ भने मेसिन जडान गर्ने कार्य सकिएको छ ।’
हेटौंडामा उपकरण भएपनि वर्षैदेखि उपयोग विहीन रहेको थियो । बाग्मती प्रदेश सरकारको पहलमा उपकरण उपयोगमा ल्याउन पहल गरेपछि सञ्चालन हुन लागेको हो । साथै संघीय सरकारले नयाँ उपकरण पनि पठाएको प्रदेश सरकारले जनाएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उपकरणलाई प्रयोगमा ल्याएर कोरोना भाइरस लागे नलागेको परीक्षण बाग्मती प्रदेशको राजधानी हेटौंडामै गर्न लागेको हो । तालिम केन्द्रमा कोरोनालगायत अन्य भाइरसको अध्ययन गर्न र स्वरूप परिवर्तनबारे जानकारी दिन मेसिन रहेको छ ।
भाइरस व्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौंडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उक्त मेसिन सञ्चालनको लागि माइक्रोबायोलोजिस्ट आवश्यक पर्ने भएपनि दरबन्दी नहुँदा अलपत्र अवस्थामा रहेको थियो ।
संघीय सरकारले प्रयोगशाला विज्ञ विष्णु उपाध्याय र निर्मल आचार्यलाई बाग्मती प्रदेशको राजधानी हेटौंडामा खटाएको छ । उपकरण सञ्चालनका लागि केमिकल, किट, पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट) र विज्ञहरु हेटौंडा आइ उपकरण सञ्चालनका लागि तयारी अवस्थामा ल्याएका थिए ।

बाइलाइन नेपाल











