चीन यसरी जुटिरहेको छ कोरोनाविरुद्धको खोप निर्माणमा,अन्य देशमा पनि परीक्षण गर्ने तयारी

एजेन्सी
१९ चैत्र २०७६, बुधबार ०७:२३

एजेन्सी । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अन्य देशहरुमा पनि परीक्षण गर्ने भएको छ । कोरोना रोकथामका लागि विकसित भ्याक्सिन आफ्नो देशमा सफलतापूर्वक परीक्षण गरेपश्चात अन्य देशमा पनि परीक्षण गर्ने तयारीमा चीन लागेको हो ।

कोरोनाविरुद्धको नयाँ भ्याक्सिनको अनुसन्धानमा जुटिरहेका चेन वीले चिनियाँ सरकारी समाचारपत्र चाइना डेल्लीसँगको कुराकानीमा भने, ‘खोपको पहिलो परीक्षणको चरण कोरोना भाइरसकै उद्गमस्थल ऊहानमा मार्च १६ मा गरिएको छ । यो परीक्षण सजिलैसँग भएको छ । परीक्षणको रिपोर्ट अप्रिल १ मा प्रकाशित हुनेछ ।’ उनका अनुसार यो खोपको परीक्षण चीनमा बसोबास गर्ने विदेशीहरुमा पनि गरिनेछ ।

उनले भने, ‘यदि खोप परीक्षणका प्रारम्भिक परिणामहरु सही आए भने हामी यसलाई विश्वका कोरोना भाइरस संक्रमणले विनास निम्त्याइरहेका देशहरुमा पनि प्रयोग गर्नेछौ ।’ चेन वी चीनको सैन्य विज्ञान एकेडेमीका अनुसन्धानकर्ता हुन् ।

यो खोपको परिणामप्रति विश्वका थुप्रै देशहरुले चासो देखाइरहेका छन् । उनले भने, ‘हामी र हाम्रो टोली अन्य देशहरुसँग मिलेर यो खोपको विकासका लागि काम गर्न चाहान्छौ ।’ उनले उक्त खोपलाई अन्य देशमा परीक्षण गर्नुअघि चीनमा बस्ने विदेशीहरुमा परीक्षण गर्ने बताए । स्मरणरहोस्ः चीनमा कोरोना भाइरसको प्रकोप फैलिएसँगै यहाँका अनुसन्धानकर्ताहरु यस विरुद्धको खोप विकास गर्न दिनरात खटिरहेका छन् । चाइना डेल्लीका अनुसार ऊहानमा ८ देखि ६० वर्ष उमेरका मानिसहरुमा यस खोपको परीक्षण गरिएको छ । १०८ जना मानिसहरु यो खोप परीक्षणमा स्वेच्छाले सामेल भएका थिए । विज्ञहरुका अनुसार कुनै पनि खोपको परीक्षण समय भने १८ महिना हुने गर्दछ ।

ऊहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण विश्वभर ४१ हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् भने ८ लाखभन्दा बढी मानिसहरुमा संक्रमण पुष्टि भैसकेको छ । चीनमा पनि ३३ सय जनाले यही भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । ११ लाख जनसंख्या भएको ऊहान सहर हुवेई प्रान्तको राजधानी समेत हो । महामारीका कारण उक्त सहरमा २ महिनाभन्दा बढी लामो समय सरकारले लकडाउन गरेको थियो । अहिले अवस्था सामान्य बन्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*