कोरोना सर्ने भन्दै नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

बाइलाइन नेपाल
१८ चैत्र २०७६, मंगलवार १९:२०

कोरोना भाइरस सर्ने भन्दै घरमा डेरा गरी बस्दै आएकी स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्न खोज्ने घरधनी पक्राउ परेका छन् ।जिल्ला प्रशासन कार्यालय दाङको आदेशका प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरका नारायण आचार्यलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आचार्यले तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी २० वर्षीया सिर्जना खड्कालाई निकालेको भन्दै उजुरी दर्ता भएको थियो ।

घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा नर्सका रुपमा कार्यरत खड्का आचार्यको घरमा डेरा गरी बस्दै आएकी थिइन् । तर, खड्का अस्पताल आउँदा जाँदा कोरोना सर्न सक्ने भन्दै आचार्यले उनलाई घरबाट निकालेका थिए ।

आचार्यले घरबाट निकाले पछि खड्का भने केही दिनदेखि होटलमा बस्दै आएकी थिइन् ।

खड्काको गुनासो पछि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालयमा आफ्नो अस्पतालमा कार्यरत नर्स घरबाट निकालिएको विषयमा जानकारी दिएको थियो ।

सोही जानकारीका आधारमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आचार्यलाई पक्राउ गर्न आदेश दिएका हुन् । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार पक्राउ परेका आचार्य घोराही नगरपालिका वडा नम्बर २ को कार्यालयमा वडा सचिवका रुपमा कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*