पूर्वराजा शाहद्वारा ‘कोरोना कोष’मा २ करोड रुपैयाँ सहयोगको घोषणा

बाइलाइन नेपाल
१८ चैत्र २०७६, मंगलवार १९:१६

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

‘राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रशंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौं,’ उनको सन्देशमा भनिएको छ,‘दु:ख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं।’

उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति संवेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भइसकेको छ,’ उनको सन्देशमा भनिएको छ,‘ यो अवस्थाबाट मुक्त हुन लकडाउन नै वाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौं र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।’

पूर्वराजा शाहले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*