पत्रकारको राहतका लागि विशेष प्याकेज घोषणा गर्न प्रेस युनियनको माग

बाइलाइन नेपाल
१७ चैत्र २०७६, सोमबार १४:२२

काठमाडौं । नेपाल प्रेस युनियले कोरोना संक्रमणका समयमा रातदिन खटिने पत्रकारको राहतका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्‍न सञ्‍चारमाध्यममा कार्यरत सञ्‍चारकर्मी सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना संकलन र सम्प्रेषणमा तल्लीन रहेकाले उनीहरुको राहतका लागि विशेष प्याकेजको घोषणा गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मोफसल र दूरदराजमा रहेर आमजनतालाई सूचना प्रवाह गरिरहेका पत्रपत्रिका, एफएम रेडियो र अनलाइनमात्र होइन ठूला सहरबजार र राजधानीका सञ्चारमाध्यम पनि अत्यावश्यक सामग्रीको अभाव र कठिनाइ तथा कोरोना भाइरसको संक्रमणप्रति आफैं सजग भएर अहिले केही छापामाध्यम बन्द अवस्थामासमेत छन् ।

यसले न्यूनतम पारिश्रमिकका भरमा जीवन गुजारा गरिरहेका श्रमजीवी पत्रकारको चुलो नै बन्द हुने अवस्था एकातिर छ भने अर्कोतिर त्यस्ता सञ्चारमाध्यमहरुलाई पनि आगामी दिनमा कसरी उकासिने भन्‍ने चिन्ता थपिएको छ । सुचारु रहेका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी पनि सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना संकलन र सम्प्रेषणमा तल्लीन छन् ।

यस्तो अवस्थामा तत्काल सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत पुर्‍याउने विशेष प्याकेजको घोषणा गर्न प्रेस युनियन सरकारको ध्यानाकर्षण गराउँदछ ।”

प्रेस युनियनले यस संक्रमण अवधिका लागि श्रमजीवी पत्रकार र सञ्‍चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना ल्याउन र उक्त राहत प्याकेजमा सञ्‍चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायत प्रक्रिया पनि समावेश गर्न सरकारलाई सुझाव दिएको छ ।

दैनिक फिल्ड र कार्यालयमा कार्यरत सञ्चारकर्मीका लागि पनि कोरोना भाइरसको संक्रमणबाट सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन र आकस्मिक उद्धारको व्यवस्था गर्नसमेत प्रेस युनियनले माग गरेको छ ।

सञ्‍चारकर्मी र सञ्‍चारमाध्यमलाई आफू सुरक्षित रही महामारीको यस विषम परिस्थितिमा सत्य, तथ्य र आधिकारिक सूचनामा आधारित समाचार सामग्रीमात्र सम्प्रेषण गर्न समेत आग्रह प्रेस युनियनले आग्रह गरेको छ ।

त्यसैगरी दैनिक ज्यालामजदुरी गरेर खाने वर्गलाई सरकारले राहतको विशेष प्याकेजको घोषणा गर्न लागेको भन्ने विषयप्रति प्रेस युनियनले धन्यवाद दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*