खुशीको खबरः अब कोरोनाको परीक्षण हेटौंडामै
हेटौंडा । विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अब हेटौंडामा नै हुने भएको छ । हेटौंडामा भएको उपकरण सञ्चलन गर्ने विज्ञ र थप सामाग्री नहुँदा उपयोग विहीन बनेको मेसिनलाई प्रयोगमा ल्याएपछि अब कोरोना भाइरसको परीक्षणका लागि काठमाडौं पठाउनु पर्ने बाध्यता हट्ने भएको छ ।
हेटौंडामा उपकरण भएपनि वर्षैदेखि उपयोग विहीन रहेको थियो । बाग्मती प्रदेश सरकारको पहलमा उपकरण उपयोगमा ल्याउन पहल गरेपछि सञ्चालन हुन लागेको हो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उपकरणलाई प्रयोगमा ल्याएर कोरोना भाइरस लागे नलागेको परीक्षण बाग्मती प्रदेशको राजधानी हेटौंडामै गर्ने तयारी अन्तिमचरणमा पुगेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । चीनबाट स्वास्थ्य सामाग्रीसहित संघीय सरकारले दुर्य जना प्रयोगशाला विज्ञ खटाएपछि केही दिनमै हेटौंडामै परीक्षण गर्ने गरी काम भइरहेको दुलालले बताए ।
तालिम केन्द्रमा कोरोनालगायत अन्य भाइरसको अध्ययन गर्न र स्वरूप परिवर्तनबारे जानकारी दिन मेसिन रहेको छ । भाइरस व्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौंडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उक्त मेसिन सञ्चालनको लागि माइक्रोबायोलोजिस्ट आवश्यक पर्ने भएपनि दरबन्दी नहुँदा अलपत्र अवस्थामा रहेको थियो ।

संघीय सरकारले प्रयोगशाला विज्ञ विष्णु उपाध्याय र निर्मल आचार्यलाई बाग्मती प्रदेशको राजधानी हेटौंडामा खटाएपछि उपकरण सञ्चालन हुने भएको हो । उपकरण सञ्चालनका लागि केमिकल, किट, पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट) र विज्ञहरु आज हेटौंडा आइपुग्ने मन्त्री दुलालले जानकारी दिए । आजैबाट मेसिनलाई अन्तरिक रुपमा सञ्चालन गरेर केही दिनमा परीक्षण सुरु गर्ने गरी काम भइरहेको उनको भनाई छ । उनले भने– अब केही दिनमा कोरोनाको परीक्षण गर्न काठमाडौं जानु पर्ने बाध्यता हट्छ ।
अहिलेको उपकरणबाट कोरोनाको नतिजा आउन ६ घण्टासम्म लाग्ने मन्त्री दुलालले जानकारी दिए । तत्काल नतिजा आउने पिसिआर उपकरण पनि केही दिनमा आइपुग्ने उनले जानकारी दिए । दुई वटा भएपछि सहज रुपमा परीक्षण गर्न सकिने मन्त्री दुलालले बताए । प्रयोगशाला विज्ञ आइपुगेपछि आजैबाट उपकरणलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन काम गरिने र तालिम केन्द्रमा अहिले भएको जनशक्ति अपुग भएमा थप गरेर भएपनि काम गर्ने उनको भनाइ छ ।
२०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको यो ल्याबमा अहिले ल्याब टेक्निसियन निरीक्षक र ल्याब असिस्टेन्ट गरी दुई जना प्राविधिक कर्मचारी कार्यरत छन्। यो ल्याब सञ्चालन भए मानव शरीरमा न्यून घनत्वमा रहने भाइरसको परीक्षण र संक्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तनको अध्ययन गरी रोग पहिचान गर्न सकिने चिकित्सकहरू बताउँछन्। कुल २१ जना दरबन्दी रहेको केन्द्रमा हाल प्राविधिकसहित हाल १६ जना कार्यरत छन्।

बाइलाइन नेपाल











