कोरोना परीक्षण गर्न चिकित्सिकसहित घरघरै पुग्यो भीमफेदी गाउँपालिका

बाइलाइन नेपाल
१६ चैत्र २०७६, आईतवार १५:५७

हेटौंडा । विदेशबाट घर फर्किएकाहरुको तथ्याङ्क सार्वजनिक गरेको भीमफेदी गाउँपालिकाले घरघरमै पुगेर शरिरको तापमान परीक्षण थालेको छ ।

प्लान नेपालको सहयोगमा स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने पीपीई प्राप्त भएपछि विदेशबाट फर्किएर घरमै सुरक्षीत साथ बस्दै आएकाहरुको तापमान परीक्षण तथा स्वास्थ्य अवस्था बुझ्न चिकित्सकसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली खटिएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

बैदेशिक रोजगार बाट आएकाहरूको तापमान परीक्षण तथा अन्य समस्या पहिचान गरि आबश्यक थप उपचार चाहिएमा सुरक्षित क्वारेन्टाइन तथा आईसोलेसन सिफारिस गरिने अध्यक्ष लामाले बताए ।

आज आइतबारबाट सुरु गरिएको स्वास्थ्य परीक्षण तथा कोरोना बारेको जनचेतनामूलक कार्यक्रमले निरन्तरता पाउने उनले जानकारी दिए । विदेशबाट आएकाहरु घरमै बसेपनि कसरी सुरक्षित भएर बस्ने, कोरोनाका लक्षण देखा परेमा कसलाई सम्पर्क गर्नेलगायतका कुरा पनि टोलीले सिकाउने काम गरेको अध्यक्ष लामाले बताए ।

भीमफेदी गाउँपालिकामा चैत महिना लागेपछि विदेशबाट घर आउने १२ जना रहेको यसअघि नै सार्वजनिक गरिसकेको छ । उनिहरु दुबई,कतार,ओमन, मलेसिया तथा भारतबाट आएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य परीक्षण तथा अनुगमनमा डा. सुनिल थापा, स्वास्थ्य संयोजक रामनाम थिङ तथा सम्बन्धित स्वास्थ्य निकाएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*