हेटौंडा बजारको विभिन्न भागमा कीटनाशक औषधि छर्किन सुरु
हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने काम सुरु गरेको छ ।
उपमहानगरपालिकाले आज आइतबारबाट हेटौंडाको मुख्य बजार क्षेत्रबाट कीटनाशक औषधि छर्किन सुरु गरेको हो । आज बिहान हेटौंडाको चौकिटोल जाने लोकप्रिय होटल देखि मेनरोडको मकवानपुर उद्योग बाणिज्यसंघ, पिपलबोट, बुद्धचोक, राप्तीरोड, सिमाचोक, कान्तिलोकपथ, स्कुलरोड लगायतका क्षत्रेमा कीटनाशक औषधि छर्किएको छ ।
उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाको नेतृत्वमा नगर प्रहरी, उपमहानगरपालिका वातावरण शाखाका कर्मचारीहरु, सफाइ कर्मचारी लगायतकाको सहभागितामा बजारका चोक, नाली, रुख, विरुवामा कीटनाशक औषधि छर्किएको छ । यो अभियान निरन्तर गरिने र आजबाट सुरु गरिएको उपमेयर लामाले जानकारी दिइन् ।

बजार क्षेत्रमा आउजाउ गर्नेहरु धेरै हुने र विभिन्न स्थानमा पुग्ने भएकाले पहिला बजार क्षेत्रमा कीटनाशक औषधि छर्किएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । ।
नगरवासीलाइ घरभित्र बसेर गुन लगाइदिन आग्रह गर्दै मेयर महतले भने–‘विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणसंग लड्न हाम तयार छौ । यो अभियानमा हेटौंडावासीहरुले साथ दिनुपर्छ ।’ कोरोना भाइरस सक्रमण सम्भावित जोखिमयूक्त स्थानहरू पहिचान गरेर कीटनाशक औषधि छर्किने उपमहानगरपालिकाको अभियान छ ।

बाइलाइन नेपाल











