हेटौंडाका निजी अस्पतालले टेरेनन् प्रदेश सरकारलाई, ज्वरो आएको बिरामीलाई प्रवेश निषेध !

बाइलाइन नेपाल
१६ चैत्र २०७६, आईतवार १०:३०

हेटौंडा । विश्वव्यापी फैलिरहेको कोरोना संक्रमणका कारण निजी अस्पतालले बिरामी राख्न छाडेका छन् ।

बिरामी राख्न छाडेसँगै लकडाउनपछि निजी अस्पतालका शय्याहरू खाली देखिएका छन् । अधिकांश निजी अस्पतालले आकस्मिकबाहेकका बिरामी भर्ना लिन छाडेपछि शय्याहरू खाली भएका हुन् ।

सामान्य रुघा, खोकी र ज्वरोका बिरामीहरू निजी अस्पतालले जाँच गर्न छाडेको आमसर्वसाधारणको गुनासो छ । यस्तो गुनासोलाई निजी अस्पताल सञ्चालकहरूले स्वीकार गर्छन् । हेटौँडा– ११ चुरेहिल हस्पिटलका अध्यक्ष गोकर्ण पराजुलीले आकस्मिक सेवा मात्र खुला राखेको बताए ।

उनले कोरोना संक्रमणपछि सुरक्षित हुने सामग्री अभावका कारण धेरै बिरामी राख्न कठिनाइ भएको स्पष्ट पारे । ‘सरकारले निजी अस्पतालका लागि ठोस निर्देशन र सुरक्षित हुने सामग्री उपलब्ध गराएको छैन,’ उनले भने, ‘स्वास्थ्यकर्मी असुरक्षित भएर काम गर्न चाहँदैनन्, त्यसकारण बिरामी राख्न समस्या भएको हो ।’

हेटौँडामा सञ्चालित हेटौँडा सिटी अस्पताल, अर्थोपेडिक, सहकारी अस्पताल र मेडिकलहरूले समेत औषधि बिक्रीमा मात्र जोड दिइरहेका छन् । यी निजी अस्पतालहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् ।

निजी अस्पतालले सामान्य ज्वरो आउँदा पनि जाँच गरेका छैनन्: शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले निजी अस्पतालले सामान्य ज्वरो आउँदा पनि जाँच नगरेको बताए ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेशस्तरीय समिति संयोजकसमेत रहेका मन्त्री जमकट्टेलले स्वास्थ्य विपतका वेला कोरोनाका डरका कारण निजी अस्पताल पन्छिन खोजेको आरोप लगाए ।

उनले आमनागरिकले आफूलाई फोनमार्फत सामान्य उपचारका लागि निजी अस्पताल पन्छिएको गुनासो गरिरहेको दाबी गरे । उनले कतिपय निजी अस्पतालले आकस्मिक सेवासमेत बन्द गरेर आफ्ना कर्मचारीलाई बिदा दिएको पाइएको बताए ।

बारम्बार अनुरोध गरेका छौँ, अटेर गरे कारबाही गर्छौं: युवराज दुलाल,सामाजिक विकासमन्त्री

निजी अस्पतालले ज्वरोको बिरामी आउँदा पनि उपचार नगरेर फर्काएको गुनासो आइरहेको सामाजिक विकासमन्त्री युवाराज दुलालले बताए ।

उनले प्रदेश सरकारले बैठकबाटै निर्णय गरेर सहकारी, पोलिक्लिनिक, मेडिकललगायत निजी अस्पताललाई सबै सेवा दिन बारम्बार अनुरोध गरिरहेको र अटेर गरे कारबाही गर्ने बताए । उनले आइतबार बैठक बसेर पुनः निर्देशन दिने तयारी गरिएको जानकारी दिए ।

मन्त्री दुलालले फेरि अनुरोध गर्दा पनि अटेर गरे प्रदेश स्वास्थ्य ऐनबमोजिम कारबाही गरिने चेतावनी दिए । विपतका वेला स्वास्थ्य सेवा महत्वपूर्ण भएकाले भएका समस्या सरकारसमक्ष राखेर जनतालाई सेवा दिनुपर्ने उनको भनाइ थियो ।

उनले निजी अस्पताललाई परेका समस्यामा सरकार समन्वय गरेर समाधान गर्न तयार भएकाले बिरामीलाई उपचारमा सहज वातावरण बनाउन आग्रह गरे । –नयाँ पत्रिका डेली डटकमममा सुदीप सिवाकोटीले लेखेको समाचार साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*