रौतहटको गौर दुई दिनका लागि ‘सट डाउन’

बाइलाइन नेपाल
१६ चैत्र २०७६, आईतवार १०:१५

रौतहट । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले देशैभरी लकडाउन गरेको छ । बाहिर निस्कन समेत रोक लगाएको यस्तो बेलामा साँझपख भने तरकारी तथा खाद्यान्न खरिद गर्ने स्थानीयको भीड हुने गरेको छ ।

तरकारी र अन्य खाद्यान्न खरिदको लागि बिहान र साँझपख स्थानीयहरु बाहिर निस्कँदा भीडभाड बढेर संक्रमण फैलने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार र सोमबार दुईदिन औषधि बाहेकका सबै पसलहरु पूर्णरुपमा बन्द गराएको छ । आइतबार बिहानदेखि नै गौरमा कुनै पनि पसल खुलेका छैनन् भने सुरक्षाकर्मीले स्थानीयलाई घर बाहिर निस्कन दिएका छैनन् ।

“साँझको समयमा तरकारी र खाद्यान्न बजार खुल्ला भएपछि स्थानीयको भीडले दिनभरी लकडाउन गरेको कुनै अर्थ देखिएन,” प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने, “किनमेलकै नाममा सबै जना घरबाट बाहिर निस्कने, डुल्न जाने जस्ता गतिविधिले गर्दा अब दुईदिन पूर्ण रुपमा बजार बन्द गर्ने निर्णय गरिएको हो ।” बजारहरु बन्द भएपनि अत्यावश्यक खाद्यान्नका लागि उद्योग वाणिज्य संघको सहकार्यमा सहज आपूर्तिको व्यवस्थापन भइरहेको प्रजिअ घिमिरेले बताए । लकडाउनलाई कडाईको साथ पालना गर्न लगाउने र अवज्ञा गर्नेलाई कारबाही गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएको उनले बताए ।

बजार बन्द भएपछि उद्योग वाणिज्य संघले भने गौरमा रहेका सम्पूर्ण खाद्यान्न पसलहरुको नाम र मोबाइल नम्बर जारी गर्ने र आवश्यक सामग्री घरसम्म पुर्‍याउने व्यवस्था गर्न लागेको उद्योग वाणिज्य स‌ंघ रौतहटका अध्यक्ष पण्डित जयसवालले बताए । बजारमा भीड हुन नदिन र मूल्यवृद्धि समेत नहुने गरी उपभोक्ताको घरदैलोमै सेवा पुर्‍याउन आवश्यक काम भइरहेको उनले बताए ।-साभारः अनलाइनखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*