मकवानपुरको  राक्सिराङमा भोकमरी, गाउँपालिकाद्वारा सहयोगको आह्वान

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार १८:४८

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र महामारीको त्राससँगै मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा भोकमरीको समस्या देखिन थालेको छ ।

मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको यस गाउँपालिका अधिकांश सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको गाउँपालिकामा खेतबारीमा उब्जाइएको अन्नले आधा वर्ष पनि खान पुग्दैन।घरमा अन्न सकिएपछि यस क्षेत्रका चेपाङ समुदायका मानिसहरु अन्नको लागि दैनिक ज्याला मजदुरी गर्न जाने गर्दछन्।

तर, कोरोना भाइरसको संक्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएपछि चेपाङ समुदायले ज्यालादारी गर्न पाएका छैनन्। जसको कारण दैनिक छाक टार्न उनीहरुमा समस्या सुरु भइसकेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।

‘गाउँका धेरै चेपाङहरुको घरमा माघ फागुनबाटै अन्न सकिन्छ। त्यसपछि उनीहरु कोही कन्दमुल खोज्ने त कोही दैनिक ज्याला गरेर ज्यान पाल्दै आउने गरेका छन्। अहिले कोरोना भाइरसको संक्रमणको कारण लक डाउन भएपछि चेपाङहरु ज्याला गर्न जान पाएका छैनन्। त्यसैले यहाँ भोकमरी सुरु भइसक्यो,’ अध्यक्ष मल्लले भने।

छाक टार्न नसकिरहेकाहरुको तथ्यांक लिने काम भइरहेको बताउँदै गाउँपालिका अध्यक्ष मल्लले उनीहरुको लागि केही खानेकुराको सहयोग जुटाउने काम सुरु गर्न लागिएको बताए। ‘खानै नपाएकाहरुलाई हामीले अहिले चामल बाँड्ने तयारी गरिरहेका छौं। हामीले मात्रै सबैलाई चामल बााड्न सक्दैनौं होला, त्यसैले हामी सबैसँग सहयोगको लागि आग्रह गरिरहेका छौं ,’ मल्लले भने।

उनका अनुसार राक्सिाराङ–५ को चैनपुर, डिर्सी, ७ नम्बरको धिराङ, दामराङ र ९ नम्बरको खैराङ क्षेत्रमा बढी समस्या देखिएको छ। यसैगरी १ नम्बरको घ्याङसिङटार, २ नम्बरको राम्चे, ३ नम्बरको घट्टेखोला क्षेत्रमा पनि समस्या रहेका छन्। ‘अब यो समस्या नयाँ मकै नपाक्दासम्म हुन्छ। विशेष गरी बालुवा चाल्ने र ढुङ्गा फुटाएर छाकटार्ने परिवार समस्या रहेका छन्,’ मल्लले भने।

उनका अनुसार करिब एकहजार पाँचसय परिवारमा खानेकुमार सक्किएको वडा अध्यक्षहरुबाट खबर प्राप्त भएको छ। ‘गाउँपालिकाले वडामार्फत् तथ्यांक संकलन गरिरहेको छ। अब दैनिक ज्यालादारीमा निर्भर र खानेकुराहुँदै नभएको परिवारलाई सहयोग गरिनेछ,’उनले भने।

गाउँपालिकाले समस्या समाधानका लागि विपद् व्यवस्थापन कोष तयार गरिसकेको र सहयोग प्राप्त हुने क्रम जारी रहेको उनले बताए। गाउँपालिकाले २५ लाख रुपैयाँ राखी विपद् व्यवस्थापन कोष खडा गरेको हो।

विपद् व्यवस्थापन कोषमा वागमती प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पनि २ लाख रुपैयाँ जम्मा गर्ने प्रतिवद्धता जनाएका छन्।

सम्भावित कोरोना संक्रमितको उपचार र अन्य व्यवस्थापनको लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा सुविधाको रकम प्रदान गर्ने भएका छन्। गाउँपालिकाका ४३ जना जनप्रतिनिधिले आफ्नो १ महिनाको सेवा सुविधाबापतको रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

त्यस्तै गाउँपालिका र त्यसअन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीले १० दिनको तलब कोषमा जम्मा गर्ने बताएका छन्। स्वास्थ्यतर्फका कर्मचारीको ७ दिनको तलब र अन्य कार्यालयमा कार्यरत कर्मचारीको १० दिनको तलब कोषमा जम्मा गर्ने निर्णय भएको गाउापालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज आचार्यले बताए।

गाउँपालिकाभित्रका स्थानीयको कोरोना भाइरसको लक्षण देखिए त्यसको परीक्षण गर्नको लागि प्रतिबिरामी पाँचहजार रुपैयाँ उपलब्ध गराउने यसअघि नै निर्णय गरिसकेको छ। गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकमबाट कोरोना परीक्षणको लागि आर्थिक सहयोगका साथै निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउने निर्णय गरिएको छ। – ईकान्तिपुर डटकममा सुवास विडारीले लेखेको समाचार साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*