हेटौंडा उपमहानगरपालिकाद्वारा दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्न वितरण
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले दैनिक ज्यालादारी गरेर हातमुख जोर्न समस्या भएका मजदुरहरुलाई खाद्यान्न वितरण गर्न सुरु गरेको छ ।
कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछी निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भोग्दै आएका मजदुरका लागि खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।
लकडाउनका कारण दैनिक ज्यालादारी र निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भोग्दै आएका मजदुरका लागि आजबाट चामल, दाल र नुन वितरण गर्न सुरु गरिएको हेर्टौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।
हेटौंडामा जसको घर र जमिन छैन, कोठा भाडामा परिवार सहित बस्नुपर्ने बाध्यता भोग्दै आएका छन् र खाद्यान्नका सामान सकिसकेका परिवारलाई वितरण गर्न सुरु गरिएको जनाइएको छ । आज शनिबार मात्र निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुको संस्था क्युपेक नेपाल मकवानपुरसंगको सहकार्यमा एक हजार केजी चामल, २ सय केजी दाल र एक सय प्याकेट नुन वितरण गरिएको मेयर महतले जानकारी दिए ।
सबै मजदुरलाई एकै पकट बोलाएर वितरण गर्दा भिड बढी हुने भएकाले क्युपेक संस्थालाई जिम्मा दिएर त्यस मार्फत पालैपालोसंग वितरणको तयारी भएको मेयर महतले बताए । दैनिक ज्यालादारी गर्ने मजदुरको एकिन तथ्याङक पनि हेटौंडाका १९ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरु मार्फत संकलन गर्ने र बास्तविक मजदुर परिवार जसलाई खानको समस्या परिसकेको छ उनीहरुका लागि मात्र वितरण सुरु गरिएको मेयर महतले जानकारी दिए ।
लकडाउनका कारण हेटौंडाका निर्माण क्षेत्रमा कार्यरत सयौं मजदुर अहिले वेरोजगार बनेका छन् । दिनभरी काम गरेर बेलुका छाक टार्नुपर्ने बाध्यताका मजदुरलाई समस्या भएकाले स्थानीय सरकारको अनुभुति गर्न पाएको मजदुरहरुले वताएकाम छन् । लकडाउन अवधिभर परिवारको सख्या हेरेर खान पुग्नेगरी चामल, दाल र नु्न वितरण गर्ने मेयर महतले बताए ।
काम गर्न समेत नपाएर कोरोनाको त्रासका कारण भोकै मर्नुपर्ने हो कि भन्ने त्रासमा बस्नुपरेपनि अहिले चामल, दाल र नुन स्थानीय सरकारबाट पाउँदा खुसी भएको मजदुर महिलाहरुले बताएका छन् । मकवानपुरका गाउँमा ज्यालादारी गरेर काम गर्ने मजदुरका लागि कामको अहिले सम्म कामको खासै समस्या छैन । तर, हेटौंडामा त्यो समस्या देखापरिसकेको छ । खाद्यान्न वितरण कार्यक्रममा हेटौंडाका वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।
यसैगरी क्युपेक नेपाल मकवानपुरले पनि आफ्नो कोषमा भएको रकम मध्यबाट एक लाख रुपैयाँ बराबरको चामल खरिद गरेर वितरणको तयारी गरेको जनाएको छ । लकडाउनले धेरै मजदुरले समस्या भोग्नुपरेकाले चामल खरिद गरेर वितरणको तयारी भएको मजदुर नेताहरुले वताएका छन् ।

बाइलाइन नेपाल











