आपूर्ति सहज बनाउन चीनसँगका नाका खुलाउने सरकारको निर्णय

बाइलाइन नेपाल
१२ चैत्र २०७६, बुधबार २१:०१

कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १ सय ७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज बनाउन भन्दै चीनका नाका भने खुल्ला गर्ने भएको छ ।

भारतसँग जोडिएका १ सय ६४ वटा सीमा नाका भने बन्द नै रहनेछन् । चीनसँगका पनि ६ वटा मध्ये २ वटा खुल्ला गर्ने सरकारले निर्णय गरेको छ ।

रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्देश्यले खुलाइएको हो।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका सञ्चालन गर्ने निर्णय गरेको हो ।

भारतले समेत सोमबार मध्यरातिदेखि २१ दिनका लागि लकडाउन गरेपछि नेपालमा आयात हुने उपभोग्य सामग्री आउन समस्या हुने भएपछि यस्तो निर्णय भएको हो ।

सामान आयात निर्यात बाहेकको कामका लागि भारत र चीन दुवै तर्फका नाका गत आइतबारको मन्त्रीपरिषद् बैठकबाट बन्द गर्ने निर्णय भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*