कोरोना उपचारका लागि राक्सिराङ गाउँपालिकाले छुट्टयायो २५ लाख, चेपाङ बिरामीलाई ५ हजार दिइने
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को उपचारका लागि राक्सिराङ गाउँ पालिकाले २५ लाख बजेट छुट्याएको छ ।
कोरोनाको संक्रमण हुन नदिन, रोकथाम गर्न तथा आवश्यक स्रोत साधन व्यवस्थापन गर्नका लागि गाउँ पालिकाको विपद व्यवस्थापन कोषमा सो रकम जम्मा गरिसकिएको गाउँ पालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । बुधबार विज्ञप्ति जारी गर्दै गाउँ पालिकाले कोषमा थप रकम सहयोग गर्न इच्छुक व्यक्तिहरूले सहयोग गर्न आग्रह समेत गरेको छ ।
यसैबीच विपन्न चेपाङ समुदायको बाहुल्यता रहेकाले चेपाङ हरुमा संक्रमणको शंका लागेमा र थप परिक्षण गराउनुपरेमा गाउँ पालिकाले सहयोग गर्ने भएको छ । विपन्न चेपाङ हरुमा हुन सक्ने आर्थिक अभावलाई मध्यनजर गरि प्रत्येक बिरामीलाई ५ हजार सहयोग गरिने अध्यक्ष मल्लले जानकारी दिए ।
गाउँपालिकाले कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको छ । गाउँ पालिका प्रवेश गर्ने नाकामा २४ सै घण्टा हेल्थ डेस्क राखिएको छ भने आवातजावतमा कडाई गरिएको छ । गाउँपालिका का बिभिन्न स्वास्थ्य संस्थामा हेल्थ डेस्क स्थापना गरिएको छ भने सुरक्षित क्वारेन्टाइन र आइसोलेसन वार्डको समेत व्यवस्था गरिएको छ । बुलबुलखबर डटकमबाट

बाइलाइन नेपाल











