सरकारले भन्यो– भिसा सकिए पनि चैत मसान्तसम्म घर फर्कन पाइँदैन

बाइलाइन नेपाल
६ चैत्र २०७६, बिहीबार १९:२१

काठमाडौं । सरकारले विदेशमा भिसा सिकएर नेपाल फर्कन चाहने नागरिकलाई पनि नेपाल प्रवेश गर्न नदिने स्पष्ट पारेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यसचिव समेत रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.महेन्द्र श्रेष्ठले भिसा सकिएका नेपालीलाई समेत अप्रिल १२ सम्म नेपाल आउन नदिने स्पष्ट पारेका हुन् ।

बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा पत्रकारले सोधेका जिज्ञासाको उत्तर दिँदै डा.श्रेष्ठले संक्रमित भएका वा बिरामी परेकालाई देशबाट निकाल्न नपाइने विश्व स्वास्थ्य संगठनको सिद्धान्त भएको भन्दै सबैलाई त्यो अवधिसम्म सोही स्थानमा बस्न आग्रह गरे । ‘संक्रमित हुनुभएको वा बिरामी पर्नुभएको व्यक्तिलाई कसैले पनि आफ्नो मुलुकबाट बाहिर निकाल्न मिल्दैन । जो जुन देशमा जहाँ हुनुहुन्छ, उहाँ नेपाली नागरिक हुनुहुँदो रहेछ भने पनि उहाँ त्यहीँ उपचारमा रहनुहुन्छ । उपचार भएर स्वाथ्यलाभ गर्नुहुन्छ’ उनले भने । संक्रमित यसमा उपचार लगायत जे गर्नुपर्ने त्यही देशमा गर्नुपर्छ ।

अहिले विदेशमै रहेर पनि संक्रमित नभए पनि उनीहरुलाई सो अवधिसम्म नेपाल फर्किने बाटो बन्द रहने समेत डा.श्रेष्ठले स्पष्ट पारे । ‘यो २० मार्चदेखि लागू हुनेगरी १२ अप्रिलसम्म उहाँहरु आउन पाउनुहुन्न् यो प्रष्ट हुनुस्, त्यसपछिको परिस्थिति फेरि विश्लेषण हुन्छ । संसारमा यो संक्रमणको प्रभाव र दक्षिण एसियामा पर्नसक्ने त्यतिबेलाको अवस्था हेरेर यो अवधि सर्न सक्छ, खुल्न सक्छ । सुरुमा हामीले ५ देशको कुरा गर्यौं, पछि ८ देशको कुरा गर्यौं । हुँदै हुँदै आएर आधा आकाश, आधा संसारको कुरा गरिसकेका छौं ।’

अहिले सरकारले युरोप, पश्चिम एसिया, खाडी क्षेत्रका सबै मुलुक, दक्षिण कोरिया र जापान लगायत ५५ मुलुकसँगबाट नेपाल आउन पूर्ण रुपमा बन्देज लगाएको छ । ती देशबाट सोझै आउने, तेस्रो मुलुकबाट ती देश हुँदै आउने र ती देशबाट जुनसुकै मुलुक ट्रान्जिट हुँदै आउने तीनै प्रकारको आवत जावतलाई सरकारले प्रतिबन्ध लगाएको छ ।

यसका कारण विदेशमा बस्ने भिसा सकिएर नेपाल आउन चाहने व्यक्तिलाई अप्ठ्यारो परेको छ । संक्रमण नभएका तर संक्रमणको जोखिममा रहेका व्यक्तिलाई यसले झन् त्रसित बनाएको छ । तर महानिर्देशक श्रेष्ठ भन्छन् ,‘ती सबै मुलुकबाट यात्रा प्रतिबन्ध छ, त्यसैले अहिले यसलाई यही रुपमा बुझ्नुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*