विद्यालय बन्द गर्न अभिभावक संघको अनुरोध
हेटौंडा । नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरले विद्यालय बन्द गर्न अनुरोध गरेको छ ।
विश्वका सम्पन्न मुलुकहरुले पनि नियन्त्रण गर्न नसकेको कोरोना भाईरसलाई फैलन नदिनको लागि सजगता अपनाउनु भन्दा बाहेक अर्को कुनै उपाय नभएकोले भन्दै संघका अध्यक्ष ध्रुवप्रसाद चौलागाईले आज विज्ञप्ती जारी गर्दै कुनै पनि बाहानामा विद्यालय सञ्चालन नगर्न अनुरोध गरेका हुन् ।
विश्वको साझा समस्यालाई नियन्त्रण गर्न सक्दो प्रयास गर्नुपर्नेमा मकवानपुरका केही निजी विद्यालयहरुले अहिले पनि वार्षिक परीक्षा लिने नाममा बिद्यालयहरु सञ्चालन गरिरहेको र कोरोना फैलने सम्भावनालाई कायम राखेकोले आजैका मितिदेखि बन्द गर्न विज्ञप्तीमा आग्रह गरिएको छ ।
सरकारले विद्यालय बन्द गरि एसईइसहितका परीक्षा समेत रोक्न गरेको निर्णयको संघले स्वागत गरेको छ । विज्ञप्तीमा विद्यालय बन्द गरेर बालबालिकालाई घरमै राख्न अभिभावकलाई अग्रह गरिएको छ । साथै बालबालिकालाई मानिसहरु भेला हुने स्थानहरुमा नपठाउन सम्पुर्ण अभिभावकलाई विज्ञप्ती मार्फत ध्यानाकर्षण गराइएको छ ।

बाइलाइन नेपाल











