नियम उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक प्रहरीको ‘नमस्कार’ !

बाइलाइन नेपाल
४ चैत्र २०७६, मंगलवार ०७:२६

पछिल्लो समय ‘नमस्कार’ विश्वभर लोकप्रिय बन्दै गएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस संक्रमणको त्रासले नमस्कारको प्रचलन विश्वव्यापी बनेको हो ।

अहिले जहाँ-जहाँ कोरोना भाइरसको संक्रमण फैलिएको छ त्यहाँ त्यहाँ ‘नमस्कार’को प्रचलनले व्यापकता पाएको छ ।

मानिसहरु भेट हुँदा हात मिलाउने र अंकमाल गर्ने अवस्था नरहेपछि अहिले विश्वव्यापी रुपमा ‘नमस्कार’ले त्यसको ठाउँ लिएको हो ।

त्यसो त ‘नमस्कार’ अहिले स्वागत, सत्कारमा मात्र सीमित रहेको छैन, कारबाही गर्नुपरेमा समेत ‘नमस्कार’कै प्रयोग गर्न थालिएको छ ।

नेपालमा कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नमस्कार’ अभियानको थालनी गरेको हो ।

प्रहरी प्रशासनमा नमस्कार नौलो नभए पनि नियम उल्लंघन गर्नेलाई समेत ‘नमस्कार’ गर्न थालिएको घटना भने नितान्त नयाँ हो । अहिले ट्राफिक नियम उल्लंन गर्ने जो कोही चालकलाई कार्यस्थलमा ट्राफिक प्रहरीले पहिले ‘नमस्कार’ गर्छन् ।

सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले ‘नमस्कार’ त्यसपछि मात्र आवश्यकताअनुसार कानूनी प्रक्रिया थालिने महाशाखाले जनाएको छ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए।

‘आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरका हौं’, उनले भने, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*