एसईईमा पाँच लाख परीक्षार्थी, सबैभन्दा बढी परीक्षार्थी बाग्मती प्रदेशबाट

बाइलाइन नेपाल
२८ फाल्गुन २०७६, बुधबार ०७:१३

एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्।

तीमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुँदै छन्।

चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बाग्मती र कम कर्णाली प्रदेशबाट छन्। बाग्मतीबाट १ लाख ३ हजार ६ सय ६७ र गण्डकीबाट ३६ हजार ४ सय ३६ सहभागी हुँदै छन्।

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा १ हजार ९ सय ९४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए। गत वर्ष १ हजार ९ सय ६९ केन्द्र थिए। उनका अनुसार सबैभन्दा बढी केन्द्र बाग्मतीमा कायम गरिएको छ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले उपत्यकाका एकाधबाहेक सबै केन्द्रमा प्रश्नपत्र पुगिसकेको जानकारी गराए। केन्द्रको प्रश्नपत्र नजिकैको प्रहरी कार्यालयमा राख्ने व्यवस्था गरिएको छ। उनका अनुसार परीक्षामा करिब १० हजार सुरक्षाकर्मीसहित करिब ६० हजार जनशक्ति परिचालित हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*