यातना दिने शिक्षिका ७ दिन थुनामै रहने

बाइलाइन नेपाल
२७ फाल्गुन २०७६, मंगलवार १८:३८

परीक्षामा कम नम्बर ल्याएकाे भन्दै विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । मंगलबार अदालतले जडिबुटिस्थित जागृति एकेडेमीकी शिक्षिका कर्माचार्यलाई थप सात दिन थुनामा राख्‍न अनुमति दिएकाे हाे ।

परीक्षामा कम नम्बर ल्याएको भन्दै कर्माचार्यले विद्यालयमा ६ र ७ कक्षाका विद्यार्थीलाई गत बिहीबार ब्लेडले नाडी चिर्न लगाएकी थिइन् । त्यसको भोलिपल्ट शुक्रबार अभिभावकहरू उजुरी गर्न विद्यालय पुगेका थिए । फागुन २३ गते विद्यार्थीलाई ब्लेडले चिर्न लगाउने शिक्षिका कर्माचार्यलाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार बर्खास्त गरिएको थियो ।

प्रहरीले यातना भोगेका विद्यार्थीका अभिभावक र एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठलाई वृत्तमा बोलाएर घटनाबारे जानकारी लिइसकेकाे छ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार विद्यार्थी बालबालिकालाई कुनै यातना धम्की वा डर देखाउन पाइने छैन। त्यस्तो कसुर गरेको पाइए ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने व्यवस्था छ। कसुर गर्ने आरोपितलाई निजी संघसंस्था वा बालबालिकासम्बन्धी प्रत्यक्ष सरोकार राख्ने निकायले १० वर्षसम्म काममा बन्देज लगाउने व्यवस्था छ। यस्तो मुद्दा जिल्ला अदालतअन्तर्गतको बाल इजलासमार्फत सजाय हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*