रङ र बेलुन मात्र होइन, टिसर्ट पनि बिकेन फागुमा

बाइलाइन नेपाल
२५ फाल्गुन २०७६, आईतवार २०:५५

कोरोना भाइरसको डरले यसपालि फागुको व्यापार प्रभावित छ। भीडभाडमा संक्रमण बढ्न सक्ने भन्दै सरकारले फागु खेल्दा सावधानी अपनाउन आग्रह गरिसकेको छ। यसले फागुको रमझम सुस्त देखिन्छ, व्यापार पनि।

बजारमा हामी रंग, फागुका टिसर्ट, पिच्कारी बेचिरहेको देख्न सक्छाैं, तर बिक्री सुस्त रहेको सम्बन्धित बिक्रेता बताउँछन्।

‘एक साता भयो होलीको सामान बेच्न राखेको, तर आजसम्म व्यापार राम्रोसँग भएको छैन,’ असनका व्यापारी निराजन खड्गीले भने, ‘यो वर्ष पोहोरजस्तो बिक्री छैन। मानिसले रङ र बलुन मात्र होइन, टिसर्टसमेत किनेका छैनन्।’

पछिल्लो समय काठमाडौं लगायतका सहरमा सेतो टिसर्ट लगाएर फागु खेल्ने चलन बढ्दो थियो। भारतीय टेलिभिजनमा देखाइने होलीबाट प्रभावित भएर नेपालमा यो संस्कार मौलाएको कतिपयको भनाइ छ।

सेता टिसर्ट पहिले फुटपाथमा धेरै देखिन्थ्यो, अहिले ठूला फेन्सीहरूले पनि प्राथमिकतासाथ राख्न थालेका छन्। फागुको माहोल नै सेलाएपछि टिसर्टको व्यापार पनि घटेको व्यापारी बताउँछन्।

काठमाडौंको व्यस्त बजार न्यूरोडमै ग्राहकहरूको चहलपहल देखिन्थेन। फाट्टफुट्ट मात्र सामान बिक्री भइरहेको देखिन्थ्यो। कोरोना प्रभावकै कारण पहिले चीनबाट ल्याउने गरेको सामान अहिले भारतबाट ल्याएकाले महंगिएको पनि गुनासो थियो।

‘केही पुराना स्टक भए त ठिकै हो, नत्र हामीलाई पनि गाह्रो छ। चीनबाट सामान आयात नभएपछि सामानको मूल्य पछिल्लो वर्षभन्दा महँगो भएको छ,’ न्यूरोडमा सामान बेच्दै गरेकी एक महिलाले भनिन्।

कोही व्यापारीको भनाइ भने फरक छ। विगतजस्तो व्यापार नभए पनि फागुका सामाग्री किन्न पूरै बन्द नभएको उनीहरू बताउँछन्।

न्यूरोड हुँदै इन्द्रचोक आइपुग्दा माहोल धेरै भिन्न देखियो। व्यापारीहरू दुई-तीन जना मात्र रहे पनि तिनका भनाइ अघिल्लोको भन्दा उल्टो थियो।

‘कोरोनाको कारण सरकारले होली नखेल्न भनेको छ रे, तर रङ र पिच्कारी किन्नेको भिड कम भएको छैन,’ इन्द्रचोकको फुटपाथमा बसेका एक व्यापारी भन्छन्, ‘बोल्नेहरू बोलिरहेका छन्, खेल्नेहरू खेलिरहन्छन्। व्यापार यति तीव्र छ, बिहान रहेको स्टक बेलुकासम्म सबै सकिन्छ।’ सेतोपाटी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*