‘कोरोनाका कारण नाकाबन्दी हुन सक्छ’

बाइलाइन नेपाल
२५ फाल्गुन २०७६, आईतवार २०:१८

विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ ।

चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०, ४० जनामा मात्रै कोरोना संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरे ।

“भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०, ४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिए त्योभन्दा ठूलो पीडा हुन सक्छ,” नेपाल चेम्बर अफ कमर्समा आइतबार भएको कार्यक्रममा उनले भने ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेशकुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनुपर्ने बताए । उनले जथाभावी भीडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे ।

६० वर्षभन्दा माथिका नागरिक, मधुमेह, मुटुसम्बन्धी समस्या र दमका रोगीहरूलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समय–समयमा साबुनपानीले हात धुन आग्रह गरे ।

पहिलोपटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण देखिएको छैन । संक्रमण देखिएका व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् । यद्यपि कोरोनाको आशंकामा परीक्षणका लागि अस्पताल पुग्नेको संख्या भने बढिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*