कोरोना त्रासः कैलालीमा परीक्षा तालिका परिवर्तन
कैलालीका स्थानीय तहले परीक्षाको कार्यतालिका परिवर्तन गरेका छन् । संसारभर फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा लिइसक्ने सूचना गरे अनुसार परीक्षा कार्यतालिका परिवर्तन गरेका हुन् ।
टीकापुर नगरपालिकाले फागुन २८ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने निर्णय गरेको छ । यसअघि चैत १६ गते गर्ने भनिएकोमा नयाँ तालिका अनुसार कक्षा ८ र एसईई बाहेकका परीक्षा फागुन २८ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन हुनेछन् ।
कक्षा ८ को परीक्षा चैत ६ गते बिहान र एसईई दिउँसो हुने जनाएको छ ।
यसैगरी जानकी गाउँपालिकाले पनि परीक्षा फागुन २९ देखि सुरु गर्न लागेको छ भने कक्षा ८ को परीक्षा पनि फागुन २८ बाटै सुरु गर्न लागिएको शिक्षा अधिकृत कलम खड्काले बताए ।
जोशीपुर गाउँपालिकाले फागुन २२ गतेदेखि चैत ५ सम्मको कार्यतालिका सार्वजनिक गरेको छ ।
जोशीपुर गाउँपालिका स्तरीय परीक्षा समितिका सचिव राजेशकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा सो कुरा जनाइएको छ । भजनी, लम्की चुहा नगरपालिकामा पनि परीक्षा तालिका परिवर्तनको तयारीको लागि छलफल भइरहेको जनाइएको छ ।

बाइलाइन नेपाल











