कोरोनाबाट बच्न प्रदेश सरकारको विशेष योजना
हेटौंडा । बागमती प्रदेश सरकारले विश्वमा नै आंतक फैलाइरहेको कोरोना भाइरसबाट बच्नका लागि प्रदेशभरी विशेष योजना ल्याउने भएको छ । कसैलाई कोरोनाको लक्षण देखापरेमा तत्काल उपचारका लागि प्रदेश मातहत सबै अस्पतालमा छुट्टै वार्ड अनिवार्य स्थापना भइरहेको सकारले जनाएको छ ।
हालसम्म हेटौंडा, भरतपुर र भक्तपुर अस्पतालमा कोरोना परीक्षण र उपचाकार लागि छट्टै वार्डको स्थापना गरिसकेको र अन्य स्वास्थ्य संस्थामा पनि वार्ड स्थापना गरिने सरकारले जनाएको छ । सोमबार प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयमा आकस्मिक छलफल गरी शंकास्पद बिरामी आए अलग राखेर उपचार गर्ने गरी तयारी भएको जानकारी दिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन बिभिन्न समिति बनाएर काम समेत गरिरहेको सरकारले जनाएको छ ।
मुख्यमन्त्री पौडेलले कोरोना भाइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको दाबी गरे । जागरणको अभियान सरकारले चलाईरहेको भन्दै अफवाह फैलन नदिनेतर्फ सबै सचेत हुन जरुरी रहेको उनको भनाई थियो ।
यस्तै सामाजिक बिकास युवराज दुलालले कोरोना नियन्त्रणका लागि तिनै तहसँग समन्वय भएको जानकारी दिए । एक महिना अगाडिबाट विभिन्न समिति बनाएर काम भइरहेको र यसको नियन्त्रणका लागि काम गरिरहेको बताए । संबेदनशिल ठाउँमा हेल्प डेस्क निर्माण गरेको उनले उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालयबाट आएको टोलीले कोरोनाबाट बच्न हात मिलाउने, अंकमाल गर्ने, जुठो चिजबिज आदानप्रदान गरेर खाने, काँचो तथा नपाकेका खानाखाने लगायत चिकित्सकले बर्जित गरेका क्रियाकलापहरु नगर्न आग्रह गरेका छन् । मास्क लगाउने, भीडसँग दुरी बनाएर बस्ने तथा माछामासु जस्ता चिजलाई राम्ररी पकाएरमात्र खान आब्हान गरेका छन् । रुघाखोकी, ज्वरो आदि आए अनिवार्यरुपमा मास्क लगाउँ र स्वास्थ्य केन्द्रमा तत्काल जचाउन जान आग्रह गरेका छन् ।
मुख्यमन्त्री पौडेलले कोरोना भाइरसले कुनै पनि सीमा, जात र जातीयताको फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि हेर्ने नभएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने बताए ।
कार्यक्रममा आन्तरिक मामीला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फूयाँल, भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिब तोयम राय लगायत अन्य सरोकालवालाहरुको उपस्थिति रहेको थियो ।

बाइलाइन नेपाल











