अत्यावश्यकबाहेक विमानस्थल नआउनू, आउनैपरे मास्क लगाउनू : प्राधिकरण
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले सकेसम्म विमानस्थलमा नआउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।
कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहनका लागि विभिन्न सतर्कताहरु अपनाइएकोमा अहिले उक्त संक्रमण फैलिन सक्ने सम्भावना देखिएको र डब्लुएचओले पनि नेपाललाई जोखिममा राखेकाले अत्यावश्यक बाहेक विमानस्थलमा प्रवेश नगर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, “नेपाल सरकारबाट सार्वजनिक स्थानमा भीडभाड कम गर्न गरिएको आग्रहलाई समेत मध्यनजर गरी सो को नियन्त्रणका लागि यस अन्तर्राष्ट्रिय विमास्नथलबाट आवतजावत गर्नुहुने सबै हवाई यात्रुहरुलाई स्वागत तथा बिदाई गर्न आउनुहुने आफन्तजनलगायत अन्य महानुभावहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनुहुन र अत्यावश्यक काममा आउनु हुने सबेले मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ ।”
त्यसका साथै विमास्थलबाट यात्रुहरुको सुविधानको लागि प्रदान गरिँदै आएको भिजिटर पास पनि अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ ।

बाइलाइन नेपाल











