प्रधानमन्त्रीलाई नातिनीले दिने भइन् मिर्गौला

बाइलाइन नेपाल
१८ फाल्गुन २०७६, आईतवार १४:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् ।

प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।

यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन् ।

मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ । नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ ।

पछिल्लो समय उनले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आएका छन् भने एपेन्डिसाइटिसको शल्य क्रिय समेत सोही अस्पतालमा सफल भएको थियो ।

‘प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको कुरा आएपछि धेरै कार्यकर्ता र सर्वसाधारणले ओलीका लागि होइन मुलुकको भोलिका लागि म मेरो मिर्गौला दिन्छु भनेर आग्रह गरेका थिए’ स्रोतले भन्यो ‘तर नातिनीलेनै दिने भनेपछि उनकै म्याच भयो ।’ अनलाइनखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*