बकैया साहित्य महोत्सवमा ६ जना स्रष्टालाई सम्मान

बाइलाइन नेपाल
१७ फाल्गुन २०७६, शनिबार २०:४६

मकवानपुरको बकैया गाउँपालिकामा झरना साहित्य परिवारको आयोजनामा शुक्रबार सुरु भएको बकैया साहित्य महोत्सव शनिबार समापन भएको छ । दुईदिने कार्यक्रम अन्तरगत शनिबार स्रष्टा सम्मान, बहसमुलक कार्यक्रमहरू, सांस्कृतिक कार्यक्रम र रचना वाचनका साथमा साहित्य महोत्सव सम्पन्न गरिएको हो ।

सम्मान कार्यक्रम अन्तरगत साहित्य क्षेत्रमा विविध किसिमले योगदान पुर्याउनुहुने ६ जनालाई विभिन्न सम्मानहरू प्रदान गरिएको छ । साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ र विनोदविक्रम केसीलाई खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६ प्रदान गरिएको छ ।

त्यसैगरी, कवि विना थिङ तामाङलाई सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६ र साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७६ प्रदान गरिएको छ ।

यस्तै बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६ बाट व्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’लाई सम्मान गरिएको छ । त्यसैगरी यसवर्षबाट सुरु भएको ुझरना(बकैया पत्रकार सम्मान–२०७६ पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको कुरा आयोजक संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रमका दुर्इवटा सेसन अन्तरगत दुईवटा विषयमा छुट्टाछुट्टै बहसहरू भएका थिए । जसअनुसार पहिलो चरणमा झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको सहजीकरणमा ुकला साहित्यको विकासमा स्थानीय तहको भूमिकाु विषयमा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे र सामाजिक विकासका अभियन्ता अर्पण पराजुलीले बहस गरेका थिए । बहसमा सहभागीहरूले समाज विकासको लागि भौतिक विकास र चेतनाको विकास सँगसँगै अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

अर्को चरणको अन्तरक्रिया कार्यक्रम झरनाका सचिव मसान उपासकको सहजीकरणमा ु नेपाली साहित्यमा मकवानपुरु विषयमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, समालोचक नीरा शर्मा र झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले बहस गरेका थिए । उनिहरुले मकवानपुरे साहित्यले नेपाली साहित्यले स्थान बढाउँदै गएको तर यो कुरा पर्याप्त भएको भनेर चित्त बुझाउनुपर्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा सम्मानित श्रष्टा, अतिथिहरू तथा स्थानीयहरूले आआफ्ना साहित्यिक रचनाहरू वाचन गर्नुका साथै स्थानीय विद्यार्थीहरूले नेपाली, तामाङ र माझी संस्कृति झल्कले सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

यसअघि शुक्रबारको कार्यक्रममा बकैया गाउँपालिका अन्तर्गतका शिक्षकहरुलाई छन्द कविता प्रशिक्षण तथा विद्यार्थीहरूका लागि पठन संस्कृति विकास तथा भित्तेपत्रिका लेखन कार्यशाला आयोजना गरिएको थियो ।

बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे, बकैया–४ का वडाध्यक्ष राजन दङ्गाल, झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, झरनाका निवर्तमान अध्यक्ष उद्दव सापकोटा र साहित्यकार तुल्सी थापा विशिष्ट अतिथिका रुपमा रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*