संकटा बाग्मती गोल्ड कपको सेमीफाइनलमा
वीरगञ्ज युनाइटेडलाई ४–२ ले टाइब्रेकरमा पराजित गर्दै संकटा युवा क्लब जरी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा सम्पन्न खेलमा बिरगंजलार्ई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
टाईब्रेकरमा संकटा क्लबका अमित तामाङ, राजेन्द्र रावल, विदेशी खेलाडी मेसेक एसि, दिपेश आले मगर गोल गरे । कप्तान एस्नेट ताम्पिले प्रहार गरेको बल गोलपोष्ट बाहिरियो ।
वीरगञ्जका तर्फबाट रामजय चौधरी, आशालाल चौधरीले गोल गरेपनि पराजय व्यहोर्नु पर्यो । फापरबारी दर्शकको समर्थन पाएको बिरगंगका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए । संकटाका खेलाडीको आक्रमणलाई बिरंगजका गोलरक्षकले विफल तुल्याइदिएका थिए ।
खेलमा म्यान अफ दी म्याच बिरगंजका जर्सी नम्बर १४ का कृपा चौधरी घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत् भोलि शुक्रबार पहिलो सेमिफाइनलको खेल हिमालय शेर्पा क्लव र च्यासल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले नगद ३ लाख रुपैयाँ प्रँप्त गर्नेछन् ।

बाइलाइन नेपाल











