मोबाइल प्रेमले उमेर नपुग्दै विवाह, सिविनले सातामै रोक्यो ८ वटा बालविवाह
हेटौंडा । पछिल्लो समय मोबालइलका कारण बालविवाह बढ्दै गएको छ । मोबाइलबाटै प्रेममा पर्ने र उमेर नपुग्दै भाग्ने क्रम मकवानपुरमा बढ्न थालेको छ । जसले गर्दा बालविवाह झन् बढ्दै गएको छ । तर सरोकारवाला निकायको अग्रसरताका कारण बालविवाहहरु रोकिदै आएका छन् ।
यसैक्रममा सिविन बाल हेल्पलाइन मकवानपुरले जिल्लाका विभिन्न स्थानमा एक सातामै ८ वटा बालविवाह रद्द गरेको जनाएको छ । सरोकारवाला निकायसँगको सहकार्यमा तय भएका र हुँदै गरेका बालविवाहमा रोक लगाएको सिविन बाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।
भीमफेदी गाउँपालिकाका ५ जना बालिका र २ जना बालक र २ जना युवक गरी जम्मा ९ जना, बकैया गाउँपालिकाका १ जना बालिका, १ जना बालक र १ जना युवक गरी जम्मा ३ जना, मकवानपुर गढी गाउँपालिकाका १ जना बालिका र हेटौंडा नगरभित्रका २ जना बालिका र १ जना बालक गरी जम्मा ३ जना गरी जम्मा १६ जना अर्थात् ८ जोडीको विवाह रोकेको ज्ञवालीले बताए ।
स्थानीय गाउँपालिका र वडा कार्यालयको नेतृत्वमा प्रहरी, सामाजिक विकास मन्त्रालय, सिविन बाल हेल्पलाइन सँगको समन्वय र सहकार्यमा बालिकाहरु उद्धार पश्चात् मनोसामाजिक मनोविमर्श सेवाको लागि बाल हेल्पलाइनको संरक्षण गृहमा रहेका छन् ।
यसरी विवाह गर्ने र गर्न प्रयास गर्ने बालिकाहरुको उमेर समूहलाई हेर्दा २ जना बालिका १४ वर्षका, ३ जना १५ वर्षका र ३ जना १६ वर्षको उमेरका रहेका छन् । भने यी बालिकाहरुसँग विवाह गर्ने वा गर्न प्रयास गर्ने बालकहरु भने ६ जना २० वर्ष मुनिका रहेका छन् भने २ जना २१ र २२ वर्ष उमेरका रहेका छन् ।
जिल्ला र स्थानीय तह बालमैत्री अभियानमा जुटिरहेका बेला समुदायमा यस्ता प्रकृतिका बालविवाह, विद्यालय छाड्ने दर बढ्दो मात्रामा हुनु निकै चुनौतिको कुरा हो, यसको सामना गर्न र व्यवस्थापन गर्न सबै पक्षको साथ र अथक प्रयास अत्यावश्यक रहेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।
सामाजिक विकास मन्त्रालय बालविवाह मुक्त प्रदेश सहजकर्ता पविना लामाले बाग्मती प्रदेशलार्इ सन २०८० सम्ममा बालविवाह मुक्त प्रदेश बनाउने अभियान थालिएको जानकारी दिइन् । केटा र केटी दुवै पक्षका अभिभावक र केटाहरुलाई पनि हेल्पलाइनबाट यस विषयप्रति सचेत गराइँदै आइएको हेल्पलाइनकी कार्यक्रम अधिकृत एवम् मनोसामाजिक मनोविमर्शकर्ता सम्झना अधिकारीले बताइन् ।
बालविवाह गर्ने यी जोडीहरु मोबाइल मार्फत कुराकानी हुँदै प्रेमसम्बन्ध बाट विवाहको निर्णय सम्म पुगेको मनोविमर्शका क्रममा खुल्न आएको छ । हेल्पलाइनको सन् २०२० जनवरी देखि हालसम्मको रेकर्ड हेर्दा हेल्पलाइनले जम्मा २२ वटा बालविवाहकै मात्र समस्या सम्बोधन गरेको हेल्पलाइनले जनाएको छ ।

बाइलाइन नेपाल











