बाग्मती गोल्डकपको सेमिफाइनलमा जावलाखेल युथ क्लब

बाइलाइन नेपाल
६ फाल्गुन २०७६, मंगलवार १८:०३

हेटौंडा । मकवानपुरको बाग्मती गाउँपालिकाको जनता मावि प्राविधिक शिक्षालयको खेलमैदानमा जारी तेस्रो बाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ मा जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मकवानपुरको लिग च्याम्पियन डाँफे युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै जावलाखेलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सेमिफाइनलमा जावलाखेलको भेट संकटा र वीरगञ्ज युनाइटेडबीचको विजेतासँग हुनेछ । जवलाखेलको जितमा सुजित बुढाथोकी नायक सावित भए ।
उनले खेलमा दुई गोल गरे । खेलको १४ औं मिनेटमा सुजित बुढाथोकीको गोलबाट अग्रता लिएको थियो । उनले फोफना फोडेको क्रसमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको गोलमा डाँफेका गोलरक्षक देब लिम्बुले कुनै प्रतिक्रिया दिन भ्याएनन् । बुढाथोकीले पुनः २८ औं मिनेटमा दोस्रो गोल गरे । उनले मकवानपुरका डिफेन्डरबीच तालमेलको अभावमा डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

खेलको ६० औं मिनेटमा जावलाखेलका रब लामाले प्रहार गरेको आकर्षक बल मकवानपुरको गोलपोष्ट नजिकबाट बाहिरिएको थियो । खेलमा मकवानपुरका हिसुब थपलिया र विश्व अधिकारीले केही राम्रा मौकाहरु पाएपनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफ्मा जावलाखेलमाथि मकवानपुरले केही दबाब राखेपनि गोल भने गर्न सकेन् । दोस्रोमा पहिलो हाफ्को अग्रतालाई कायम राख्दै जावलाखेल विजयी भयो । खेलमा दुई गोल गरेका जावलाखेलका सुजित बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत भोलि बुधबार साविकको विजेता सरस्वती युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद छलाख र तीनलाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*