चौथो प्रयासमा रामेश्वर फुयाल मन्त्री बन्दै, आजै सपथ

बाइलाइन नेपाल
५ फाल्गुन २०७६, सोमबार १५:३३

हेटौंडा । पटकपटक मन्त्री बन्ने प्रयासमा विफल हुँदै आएका नेकपाका नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाल आजबाट भौतिक पूर्वाधार विकास मन्त्री बन्ने भएका छन् ।

माघ २९ गते सपथग्रहणको तयारीमा रहेका फुयालको अन्तिम समयमा आएर मन्त्री बन्ने अवसर रोकिएको थियो । तर मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी अध्यक्ष तथा प्रधमनमन्त्री केपी ओलीसहितका शिर्ष नेतालाई भेटेर समस्याको समाधान गरेपछि फुयाल मन्त्री बन्ने पक्क भएको जनाइएको छ ।

शिर्ष नेताबाट मन्त्री बनाउन निर्देशन पाएपछि आज साँझ पाँच बजे फुयालको सपथ ग्रहण रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यसअघि तीन पटकसम्म फुयाल मन्त्री बन्ने चर्चामै सिमित भएका थिए । चौथो पटकमा भने उनको यात्रा नरोकिने स्रोतले जनाएको छ । आज तय भएको सपथग्रहण भने नरोकिने बताइएको छ ।

काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुयाललाई मन्त्री बन्नबाट आफ्नै पाटीले रोकेको थियो । केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पौडेलले पार्टीका शिर्ष नेताहरुसँगको छलफलपछि फुयाललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री नियूक्तीसँगै मन्त्रीपरिषद् विस्तारको हल्ला चलेपनि तत्काल विस्तार नहुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । विस्तार गर्ने तयारी गरेपनि मन्त्रीमा आंकाक्षी धेरै भएकाले समस्या भएको जनाइएको छ ।

यसअघि संविधानसभाका सदस्य समेत रहेका फुयाल पहिलोपटक मन्त्री बन्न लागेका हुन् । फुयाल गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री वन्न लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*