अन्ततः बलात्कार प्रयासको मुद्दामा महराले पाए सफाइ
संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाबारे पक्ष/विपक्षमा बहस भएको थियो। यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।
असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन्। ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।
त्यसरी हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। महराले आफूलाई बलात्कार गर्न खोजेको, नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामू कागज गरिदिएकी छन्।
त्यस्तै, पत्रकार अजयबाबु सिवाकोटीले गरेको कागज महराविरूद्धको अर्को प्रमाण हो। उनले रोशनीसँग लिएको भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल,रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा मिसिल संलग्न गरेको छ।
यी सबै तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको हो। पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर छ।

बाइलाइन नेपाल











