बेलायतमा संक्रमण दर एक सातामा झन्डै ७० प्रतिशतले वृद्धि

बाइलाइन नेपाल
१५ असार २०७८, मंगलवार ०७:२८

लन्डन। बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो ।

कोरोना संक्रमणका कारण एकैदिन झन्डै २३ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या गत जनवरी ३० तारिख पछिको सबैभन्दा बढी हो । एक साताभित्र ६९ दशमलव ९ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४७ लाख ५५ हजार ७८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३ जनाको मात्र मृत्यु भएको छ । संक्रमण दरमा वृद्धि भएपनि मृतक संख्यामा भने खासै फरक परेको छैन । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार १०३ पुगेको छ ।

बेलायतमा ७ करोड ७० लाख भन्दा बढी खोप वितरण

बेलायतमा ७ करोड ७० लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुन २८ सम्मको तथ्यांक अनुसार यहाँ ६१ दशमलव ९ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८४ दशमलव ४ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ७० लाख ३८ हजार २५७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ४४ लाख ५४ हजार ५११ जनाले पहिलो र तीन करोड २५ लाख ८३ हजार ७१६ जनाले दोस्रो डोज लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*