ललिता निवास जग्गा प्रकरणः गच्छदारको समर्थनमा काँग्रेसले गर्यो सडकमा उत्रने निर्णय

बाइलाइन नेपाल
February 6th, 2020

नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि आगामी रणनीति बनाउन कानुन व्यवसायीहरुसँग परामर्श गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा गच्छदारमाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

विहीबार विहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी र पार्टी निकट कानुन व्यवसायीबीच छलफल भएको हो । सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला,कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डे र सरिता प्रसाई छलफलमा उपस्थित थिए।

कानुन व्यवसायीका तर्फबाट डेमोक्रेटिक लयर्स एसोशिएसन (डिएलए)का अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, पूर्वअध्यक्ष भरतप्रसाद खरेल, कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशन महासचिव लिलामणि पौडेल र बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे,सीताराम केसी र एकराज पोखरेल छलफलमा सहभागी थिए ।

छलफलमा उनीहरुले सरकारसँग बुझ्ने र अदालत जाने बाटो खुला रहेको सुझाव दिएका हुन् ।त्यसका लागि कसरी जाने भन्ने बारेमा संविधान, कानुन अध्ययन गरेर थप सुझाव दिने बताएका थिए । साथै काँग्रेसले गच्छदारविरुद्ध दायरमुद्दाको विषयमा पार्टीका साथै भ्रातृ संस्थाहरुलाई संघर्षमा उतार्ने रणनीति लिएको छ ।

यसैबीच काँग्रेसले संघीय संसदको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । यस विषयमा थप जानकारी गराउन बिहीबार अपराह्न सवा ४ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*