जेनजी आन्दोलनका कारण बागमती सरकारको बजेट पुनरावलोकन हुने

बाइलाइन नेपाल
३ आश्विन २०८२, शुक्रबार १९:३१

हेटौंडा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट नै पुनरावलोकन गर्नु पर्ने अवस्था आएको छ । ।

आन्दोलनले पुुगेको क्षतिका कारण प्रदेश भरको प्रशासनिक पुर्नसंरचनाको लागि थप आर्थिक भार पर्ने भएकाले बजेटको पुनरवालोकन गर्नुपर्ने अवस्था आएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट पुनरावलोकनको लागि अध्ययन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो ।

आज शुक्रबार मन्त्रिपरिषद्ले बजेट पुनरावलोकनको अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री तामाङले बजेट पुनरावलोकन गर्नुपर्ने भएकाले अध्ययनको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिए ।

निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको सरकारले ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरुवातदेखि नै विवादित बनेको थियो । बजेटमाथिको विवाद समाधानका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई–दुई जना प्रतिनिधिको अध्ययन कार्यदल गठन गरेर बजेटमा भएको बदनीयत र त्रुटीको अध्ययन भएको थियो ।

बिहीबार साँझ हेटौंडामा बसेको सर्वदलीय बैठकले पनि प्रदेश सरकारको खर्च कटौती गर्ने निर्णय गरेको थियो । सरकारले बजेटको पुनरावलोकनबाट खर्च कटौती, प्रशासनिक संरचनाको हेरफेरलगायतका काम गर्ने तयारी गरेको छ ।

यसैगरी, अघिल्लो मन्त्रिपरिषद् बैठकले १० लाख वा १० लाख भन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट मात्र कार्यान्वयन गर्ने निर्णय गरेको थियो । अघिल्लो सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट विनियोजन गरेको थियो । चालूतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बिनियोजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*