हेटौँडामा वडा अध्यक्षमाथि आक्रमण, नगरपालिकाले सेवा बन्द गर्ने

बाइलाइन नेपाल
१९ असार २०८२, बिहीबार २०:३०

हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिमाथि आक्रमणका घटना दोहोरिन थालेका छन् । असार ४ गते वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको घटना सेलाउन नपाउँदै बिहीबार वडा नं ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि पनि कुटपिट भएको छ ।

वडाध्यक्ष सिग्देलमाथि हेटौँडा–४ स्थित हेटौँडा क्याम्पस अगाडिको सडक विस्तारका विषयमा छलफल चलिरहेको बेला हातपात भएको हो । प्रहरीका अनुसार काभ्रे जिल्लाको रोशी गाउँपालिकाकी मञ्जु लामाले वडाध्यक्षमाथि आक्रमण गरेकी हुन् । वडाध्यक्षले सडक निर्माणका विषयमा धारणा राखिरहँदा लामाले भिडियो खिच्न थालेपछि रोक्न आग्रह गर्दा विवाद चर्किएको र त्यसक्रममा आक्रमण भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

उक्त घटनाले जनप्रतिनिधिको भौतिक सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ । स्थानीय सरकारका प्रतिनिधि योजनाको अनुगमन वा समस्या समाधानका क्रममा आक्रमणमा पर्ने क्रम बढ्नु, सत्ताको अभ्यास गरिरहेका जनप्रतिनिधिको आत्मबल कमजोर बनाउने सम्भावना बढेको छ ।

सडक निर्माणको अलपत्र अवस्था र त्यसलाई लिएर स्थानीयको आक्रोश वडाध्यक्षमाथि लक्षित हुँदै आएको थियो । हेटौँडा क्याम्पसदेखि हुप्रचौरसम्मको सडक लामो समयदेखि निर्माण हुन नसक्दा जनगुनासो बढ्दै आएको थियो । वर्षायाममा पैदल हिँड्नसमेत कठिन हुने अवस्था थियो । स्थानीयले पटकपटक सामाजिक सञ्जालमा भिडियोमार्फत असन्तुष्टि पोखिरहेका थिए ।

यस घटनापछि वडाध्यक्ष सिग्देलले निर्माण क्षेत्रको अनुगमनको क्रममा आफूमाथि योजनाबद्ध आक्रमण भएको प्रतिक्रिया दिएका छन् । प्रहरीको तत्काल हस्तक्षेपपछि आक्रमणकारी भनिएकी मञ्जु लामालाई नियन्त्रणमा लिइएको छ ।

यसैबीच, घटना गम्भीर भएको भन्दै वडा कार्यालयले शुक्रबारका लागि तय सबै कार्यक्रम रद्द गरेको छ भने उपमहानगरपालिकाले एक दिन सेवा नदिने निर्णय गरेको छ । नगरप्रमुख मीनाकुमारी लामाले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिमाथिको सुरक्षा चुनौतिले गम्भीर अवस्था लिएको र प्रशासनले कठोर सुरक्षा नीति नअपनाए परिस्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*