सम्झनाको स्क्रेचमा बा

अनिता न्यौपाने
११ भाद्र २०७९, शनिबार ०६:४८

आफैंले अनुभूत गरेको प्रेमको भ्रान्ति बाहेक संसारिक रचनामा मानिस सधैं एक्लै हुन्छ । जन्मदा एक्लो, मर्दा पनि एक्लो, एक्लोपना शास्वत सत्य । आफु एक्लो छैन भन्ने भ्रान्तिमा राख्न मानिस सधैं आफन्ती मनोकल्पनाहरु रचना गर्छ र बेला बेला समुहकै माझमा ब्युँझेर त्यही शास्वततालाई आत्मसात गर्छ । एकदिन मलाई भयो त्यस्तै । दसैँ भर्खरै सकिएको थियो । मखमली फूलले रंगिएका भित्ता र त्यतातिरवाट आएको खिरिलो वस्नाले मनमा झलक्क झलक्क तिहार अनुभुत हुँदै थियो । बजारमा सामान किन्नेको लर्को, सप्तरंगी टिकाको व्यापार र रेडियो टेलिभिजनमा घन्कने मङ्गलधूनहरुले तिहार आजावमा उठ्दै थियो । एक्लै बसेर विगतमा फर्किंदा साना साना सम्झनाहरुले पनि चिमोट्न आउँछन् । साना नानीहरु द्यैसी भैलोको रिहर्षल गर्दैछन्, म विगतमा गहिरिंदैछु । प्रत्येक तिहारमा म एक्लै हुन्छु । एक्लै खुशी हुने बानी परेकाले पनि म खुशी नै हुन्छु । सबैका आ(आफ्नै खुसीहरु हुन्छन् । कोही दाजु भाइको हातबाट टिका लगाउन घरतिर गइसकेका हुन्छन्, कोही दसैँमा गएपछि फर्केर नै आएका हुँदैनन् । त्यसैले तिहारमा एक्लो बस्नु मेरो विशेषता बनिदिन्छ । अभ्यास नै बनिसकेकाले खुबै रमाइलो लाग्छ, यी भित्ताहरुसँग मौन संवाद गरेर बस्न । एकप्रकारले मौनतामै आवाज बुलन्द हुँदै जान्छ मेरो । मौनतामा खुसी खोजेर रमाउँछु एक्लै एक्लै एक्लै नितान्त एक्लै, यो एक्लो कोठामा । मेरो बाका दिदीबहिनी हुनु भएन र मेरा दाजुभाइ । यस हिसावले विपरित भए पनि तिहारको सांस्कृतिक मनोअभ्यास बाले र मैले उस्तैगरी गरेका छौं । न बाले कसैको हातबाट टिका लगाउनु भयोे न मैले नै कसैलाई दाजु भाइ बनाएर टीका लगाइदिएँ । त्यसैले म दसैँमा पढ्न नभ्याएका किताब पढ्न, त्यो समय गर्न नसकिएका कामहरु गर्न, त्यो बेला नभेटेका मान्छेहरु भेट्न मलाई यो तिहारले राम्रो अवसर जुराइदिन्छ । तर तिहारको आँधीमय तस्बिर छ मेरो मनमा । सबैभन्दा तितो सम्झना बोकेर चियाउँछ मलाई । धेरै बर्ष अघि यो तिहार मेरो जीवनमा आँधी जसरी आयो । घरभित्र पसेर कसैको घर सखाप पारे जस्तै गरी मेरा सारा सपनाहरुलाई चकनाचुर बनाएर गयो तिहारले । बिडम्बनावश मैले हेरिमात्र रहेँ ।

त्यतिबेला म निकै स्यानी थिएँ । रहरहरु बनिसकेकै थिएनन्, खुसीहरुले उचाइ लिएका पनि थिएनन् । मन छिप्पिएकै थिएन, त्यसैले आफ्नो कडापनमा त्यो भाँचिने बेला भएको थिएन । तर, समय बिस्तारै बग्दै गयो र आफ्ना टुटेका रहर, सपना र खुशीहरु छिप्पींदै आउनथाल्यो । त्यसैले मलाई तिहारमा सबैको भन्दा बढी सम्झना बाको आउँछ । भित्ताोमा झुण्डिएको तस्विरलाई मनमा सजाउँदा त्यसै त्यसै भक्कानो फुट्दो रहेछ । न हृदयको कुनाबाट निकाल्न मिल्ने, न हृदयमा राखेको कसैले देख्न नै सक्ने कस्ता हुँदा रहेछन् यादहरु । जति पछि भयो त्यति खिरिलो हुँदै जाने, धारिला हुँदै जाने रहेछन् सम्झनाहरु । बालाई निकै रोगले च्यापेर अस्पताल भर्ना गरिएको थियो । आमा मात्र हुनुहुन्थ्यो साथमा । काठमाडौँ नै घर भएकोले गर्दा ठूलो बाबा र ठूली आमा पनि बेला बेलामा पुग्नुहुन्थ्यो रे । बाले धेरै दिन भइसकेको थियो केही नखाएको । आमा त्यसै त्यसै आत्तिसक्नु भएको थियो बाको अवस्था देखेर । आमा पनि केही नखाएर बाँस जस्तै भैसक्नु भएको थियो । बाले केही नखाएसम्म आमाले पनि केही खानु हुँदैन थियो रे । आँखाभरि आँसु बोकेर काठमाडौँमा एउटा युद्ध जित्ने प्रयासमा हुनुहुन्थयो मेरी आमा । बालाई त्यो समय घर फर्काएर ल्याउन सक्नु भएको भए आमाको सिन्दुरको जित हुन्थ्यो । दिनानुदिन घर बढार्दा नाडीमा छन्कने ति चुराको जीत हुन्थ्यो । कसैले नजर लगाउनु अगाडि घाँटीमा झुण्डिएको पोतेको डोरोेले सबैलाई परास्त पारिदिन्थ्यो र सायद त्यसको पनि जीत हुन्थ्यो । तर त्यसो भएन आमाको हार भयो बाले गोरु तिहारको दिन बिहान ८ बजे हामी सबैलाई छोडेर यो संसारबाट बिदा लिनु भयो । हाम्रो कोही नभएर त्यो समय बाको नामको डालो बोकेर दिदी सधैं खोलामा सेलाउन पुग्थिन रे । म घुईरो घुईरो हल्ला सुन्थे, ‘यसको परिवारले छोरा नभएर छोरीले डालो बोकेर खोला गएको रे । कस्तो परम्परा आयो अब त संस्कार भन्ने कुरा नै बाँचेन ।’ मलाई यो सुन्दा निकै पीडा हुन्थ्यो । दाजु भाइ नभएकोमा म धेरै रुन्थे । कटु बचनहरुले जहिल्यै घोच्ने, वचन प्रहारको तिब्रता मुटु र मष्तिष्कमा एकै पटक बिझ्न पुग्थ्यो । मलाई लाग्थ्यो म संसारबाट किन बिदा भइन होला ? आज पनि कसैले नराम्रो बचन बोल्यो भने मलाई तीन दिन तीन रात निद्रा लाग्दैन । असह्य पीडा हुन्छ । आँखा त्यसै रसाउँछन् र वर्षन थाल्छन् । मलाई निकै गाह्रो हुन्छ त्यो सिच्वएसन हेन्डिल गर्न । हुन त बा नभए पनि जिन्दगी चलेको छ । आमा नभए पनि जिन्दगी रोकिंदैनथ्यो होला । बा आमा नहुनेहरु पनि संसारमा बाँचेका छन् । भनिन्छ( बरु बा भन्दा आमाको अभाव तिब्र हुन्छ जीवनमा । तर बाको अभावले नै म महसुस गर्छु, बाआमाको माया तराजुको पल्लामा बरावरी नै हुन्छ । आमाले दिने नारी संस्कार र बाबुले दिने सामाजिक संरक्षण जीवनका अमुल्य पाटा हुन् । मानिसमा मातृत्व र पितृत्वका नैसर्गिक गुणहरु बाबु र आमावाट संस्कारका रुपमा प्रदान हुन्छन् । हेर्दा केही फरक नदेखिएला तर, बाबुको माया नपाएको पीडा कस्तो हुन्छ मैले अनुभुत गरेकी छु ।

प्रत्येक वर्ष गोरु तिहारको दिन मेरो घरमा श्राद्ध पर्छ । म आमालाई यी श्रााद्ध गरेर बाको याद दिलाउने काम नगर्नुस् भन्छु । तर आमा मान्नुहुन्न । भन्नुहुन्छ, मेरो पछि तिमीहरु जेसुकै गर तर, म हुन्जेलसम्म त्यो हुन दिन्न । आमाको खुसीको गला रेट्नु पनि मेरो नैतिकताले दिँदैन र श्राद्धको दिन म पुग्ने गर्छु । आमा बिहान घर बढार्नुहुन्छ, पोछा लाउनु हुन्छ, साराका सारा सामान निकालेर पखाल्नु हुन्छ । अनि बाबाको तस्विरमा हेरेर हामी उठ्नु अगाडि नै निकै बेर रुनुहुन्छ । म प्रत्येक वर्ष आमा रोएको प्रष्ट सुन्छु तर केही बोल्न सक्दिन, केही भन्न पनि सक्दिन । चुपचाप चुपचाप सिरकबाट अलिकति मात्र आँखा निकालेर आमाको अनुुहार हेरि रहन्छु । लाग्छ बा भएको भए आमाले यो दिनको सामना गर्नु पर्ने त थिएन । अनि सिरक भित्रैबाट फुट्छन् मेरो आँखाबाट पनि आँसुको भल । तर आमालाई आँशु देखाउँदिन । पण्डित आउँछन् दुइचार थान कितावका कुराहरुलाई चुस्त दुरुस्त भट्याउँछन् र जान्छन् चामल,ध्यू, तरकारी, दही,आदि इत्यादि सामानको पोको बोकेर । निधारमा पहेलो टिका टासेर दक्षिणा थापेर फर्केको पुरेतलाई हेर्दै म सोच्नेगर्छु, यदि त्यो पण्डितले मेरो बाबाको आत्मालाई भेट्छ भने एक पटक मलाई पनि भेटाइदिए हुन्थ्यो नि । तर यो असम्भव छ, अचेतन मनले मागेको मात्रै हो । नत्र सांसारिकता, जन्म मृत्युको प्राकृतिक नियमको उपादेयता नै कसरी रह्यो र । पुरेत जो छन् उनले मेरो बाको तस्विर मात्र देखेका छन् । जुन फोटोमा बा युवा अवस्थाका हुनुहुन्छ । बा बित्दा उहाँको अनुहारमा झल्किएका पीडाका रेखाहरुलाई मैले केही हदसम्म महसुस गरेकी छु । बासँग मेरी आमाले जिन्दगीका सबै दुःखहरु सेयर गर्नु भएको छ । त्यही भएर त आमा शुन्यबोधमा बारम्बार रुनुहुन्छ । मैले बा बित्दाको पीडा, अभाव, दूःख महसुस गरेकी छु । तर त्यो पण्डित जसले मेरो बाको तस्विर त युवा अवस्थाको देखेको छ भने कसरी मेरो बालाई उसले भेटेको जिद्धि गर्छ ? बा बित्दा आमाको उमेर जम्मा २७ वर्षको थियो । त्यसक्रमका धेरै दुःख कष्टहरुलाई आमाले आफ्नो भाग्यको खेल सम्झदै हामीलाई हुर्काउनु भयो । पढाउनु भयो बढाउनु भयो र यो स्थान सम्म ल्याइ पु¥याउनु भयो । हामीले भोलिका दिनको खाका कोरीसकेका छैनौ । आमालाई माया माया गर्नु हाम्रो कर्तव्य हो ।

आमाका काखमा आफ्नो जिन्दगीका अनगिन्ती सपनाहरु देख्न पाउनु हाम्रो अधिकार हो । आमा र बाको प्रेम विवाह हो । दुबै एकले अर्कालाई निकै माया गर्नुहुनथ्यो । समाजको जड चेतानाले माया परस्परको विषय हुन सक्दैनथ्यो । मायामा परिवारको प्रमाणपत्र चाहिने । मेरा मावली हजुरबुबा आमालाई मेरो बासँग बिहे गराउन चाहनुहुन्थ्यो । कारण बाको घर काठमाडौँ । त्यो समय यातायात थिएन । काठमाडौं निकै टाढा थियो । छोरीलाई टाढा पठाउने हजुरबा हजुरआमाको चाहाना थिएन । प्रेम अन्धो हुन्छ भन्थे, त्यस्तै पनि भयो आमाले भागेर बासँग बिबाह गर्नु भयो । बालाई पाउँदा आमाको खुसीको सिमा नै थिएन रे । सायद बाको मनमा पनि त्यस्तै भएको थियो होला । बा कामको शिलशिलामा धेरै देश घुम्नु हुन्थ्यो । विदेशका सामानहरुले सजिसजाउ थियो मेरो घर । बा घरमा भएको बेला कहिले पनि आमालाई खाना बनाउन दिनुहुँदैन थियो रे । आमाको मनको भाषा बाले सजिलै बुझ्नु हुन्थ्यो । म कहिलेकाहीँ एल्वम पल्टाएर आमा र बाको फोटो हेर्छु । आमाको त्यो हसिलो अनुहार त्यसमा छ । उहाँ निकै खुशी देखिनु भएको छ । बाले आमाको काँधमा हात राखेर तस्बिर खिच्नु भएको छ । त्यो तस्बिर मैले हेर्दा त तन्नेरी वयका प्रकृतिसुलभ प्रेमको सम्झनाले मलाई गाल्छ भने आमा कुन मुटुले हेर्नु हुँदो हो ? बाका यादहरु धेरै छैनन् मसँग । मैले कहिले पनि बाको काँधमा चढेर हट घोडा हट गर्न पाइन । बाको हात समाएर मैले कहल्यिै अक्षर चिन्न पाइन । बा के कुराले बढि भन्दा बढि पिरिनुहुनथ्यो वा के कुरामा खुशी हुनुहुनथ्यो मलाई थाहा छैन । कुन लुगामा बा सबैभन्दा हिरो देखिएको अनुभव गर्नुहुन्थ्यो । बा को सबैभन्दा फेबरेट हिरो कुन हो । बा कत्तिको फिल्म हेर्नुहुन्थ्यो, बाले जिन्दगीमा आमालाई भन्दा बढी माया अरुलाई कसैलाई गर्नु भो कि ? या आमा नै पहिलो र अन्तिम प्रेमीका ? बाले कुनै दिन आमाको आँखामा आँसुका थोापाहरु ल्याउनु भयो की भएन होला ? अहँ बाको बारेमा मलाई केही थाहा छैन । कहिले काहीँ आमासँग कुरा हुँदा सोध्ने गर्छु (आमा हाम्रा बाले हाम्रो लागि के के प्लान बनाउँनु भएको थियो । तर आमा प्लानको अर्थ फिटिक्कै बुझनुहुन्न । आमा भन्नुहुन्छ, खै तेरा बा सधैँ सुत्नु अघि एक गिलास रक्सीमा जिन्दगीका सारा सपना लुकेर बसेको अनुभव गर्थे । भन्थे–मेरा छोरीहरुको लागि भएपनि मैले यो रक्सीको लतलाई छोड्नु पर्छ । बाको र रक्सीको यस्तो राम्रो मित्रता थियो एक बिना अर्को बाँच्नै सक्दैन थिए । तर बा मरेर जादा रक्सीसँगै जान सकेन । त्यसैले गाउँका कोही ठूलो बा, कोही काकाबा, कोही, हजुरबाको मुखमा ह्वास रक्सी गन्हाउथ्यो । मलाई रक्सीसँग रिस पनि त्यही बेला देखि उठेको हो । मेरो बाको साथी नै मेरो सबैभन्दा ठूलो दुश्मन साबित भएको थियो । जुन आजसम्म पनि निरन्तर दुश्मनको रुपमा नै रहेको छ । मेरो जिन्दगीको सबैभन्दा प्रिय मान्छे पनि रक्सीसँगको संगत छ भन्ने थाहा पाएपछि अप्रिय बनिदिन्छ । मैले रक्सीको कारणले धेरै साथीहरुलाई छोडिदिएको छु । गाउँकै दाजुभाइ पर्नेहरुसँग पनि रक्सीको संगत गर्छन् भन्ने थाहा पाएपछि मलाई बोल्नै मन लाग्दैन । कुनै दिन यस्तो पनि आउँछ जस्तो लाग्छ कि यो रक्सी खाने संसार एकातिर र म अर्कोतिर हुन्छु कि ? मैले बाका नाममा धेरै कविता लेखेः कविताले मलाई निकै छुन्छ । अरुका बा को अनुहार हेर्दै आफ्नो बाको कविता लेख्न मलाई निकै गाह्रो हुन्थयो । तर जस्तो भएपनि मेरो बाको अन्तिम सम्बोधन आज पनि मेरो कानमा फुसफुसाएर जान्छ । मलाई मेरो जिम्मेबारी बोध गराइदिन्छ त्यसैले पनि होला मलाई कसैको मायाले पनि हतपत्ति छुदैछुदैन । मलाई कसैले माया देखाउने वित्तिकै लाग्छ के मेरो बाको सम्झनामा यो प्रतिनिधि पात्र बनेर कतै सामेल हुन सक्छ होला र ?

आमाले झारेको आँसुलाई मैले देखेको छु । आमाको सपनाहरु मेरो मनमा अटुट छाप बनेर बसेको छ । आमाले गालि गरेका, आमाले माया गरेका, आमाको भोगेका साराका सारा कुरा मेरो जिन्दगीमा छन् । यो समाज किन मेरो बिरुद्धमा बोल्छ त्यो पनि मलाई थाहा छ । यो समाजका मान्छे किन यस्ता छन् त्यो पनि मलाई थाहा छ । यो समाजमा मेरो भूमिका के हुनुपर्छ त्यो पनि मलाई थाहा छ । समाजले औँला ठड्याउँदा पनि मेरो आमाको आँखामा आँसुका भुल्काहरु किन जन्मिन्छन् त्यो पनि मलाई नै थाहा छ । आमा किन घर बेचेर कुनै ठाउँमा सर्न किन चाहदिनन् त्यो पनि मलाई थाहा छ । आमा घरमा एक्लो भएर पनि किन त्यही खाटमा सुत्न मन पराउँछिन त्यो पनि मलाई थाहा छ । सब थाहा छ थाहा छ को बिचमा रहेर पनि भन्नु नै पर्छ मलाई आमा तिम्रो अतितको बारेमा, तिमीले भोगेका पीडाको बारेमा केही थाहा छैन । किनकि यो थाहा पाउँदा म दुःखी हुन्छु भन्ने आमालाई थाहा छ । आमा म दुःखी भएको एक मिनेट पनि हेर्न सक्नु हुन्न भन्ने कुरा पनि मलाई थाहा छ । हामी आमा छोरीमा अटुट माया छ विश्वास छ त्यसैले हाम्रो सम्झनामा हाम्रो बा स्केजमा नै सही सदासदाको लागि जीवित हुनुहुन्छ । हाम्रो जीवनको एक अभिन्न अंग बनेर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*