२० वर्षसम्म हराउनेको निक्षेप राष्ट्र बैंकले खिच्ने

बाइलाइन नेपाल
२९ पुष २०७८, बिहीबार १५:३४

बैंक तथा वित्तीय संस्थामा रकम (निक्षेप) राखेका, तर २० वर्षसम्म सम्पर्कमा नरहेका या दाबी नपरेकाको निक्षेप अबदेखि नेपाल राष्ट्र बैंकले खिच्ने भएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचना जारी गर्दै त्यस्तो निक्षेप बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको हो । कोषमा जम्मा भएको रकम केन्द्रीय बैंकले बैंकिङ्ग विकासमा प्रयोग गर्ने जनाएको छ ।

इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले अब २० वर्षसम्म लिन÷बुझ्न नआएका र दाबी नपरेका निक्षेप राष्ट्र बैंकको सो कोषमा जम्मा गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ को उपदफा (३) र दफा ११२ को उपदफा (३) बमोजिम केन्द्रीय बैंकले कोषमा जम्मा गर्न सूचना जारी गरेको हो ।

बैंकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाकै हुनेछ । बैंक तथा वित्तीय संस्थाले कोषमा जम्मा गरिसकेको निक्षेप रकमउपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रकृया पूरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैँकमै दाबी पेश गर्नुपर्नेछ ।

आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिनाब्याज रकम फिर्ता गरिने बैंकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*