जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो

बाइलाइन नेपाल
१ आश्विन २०७८, शुक्रबार ०७:२३

२ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् । तर, उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिइएको काठमाडौंमा बिहीबार आयोजित एमाले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो ।

कार्यक्रमका प्रमुख अतिथि थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । अतिथिमा पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापालगायत थिए ।

तर, उद्घोषकले शाक्यलाई पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री भनेर आसन ग्रहण गराउँदा माओवादी केन्द्रबाट आएका बादललाई भने बाग्मती प्रदेश इन्चार्ज भनेर आसन ग्रहण गराइयो ।

यसले एमाले उपाध्यक्ष शाक्यले पनि अर्का उपाध्यक्ष भीम रावलको नियति भोग्नुपर्ने पक्कापक्की झैं छ । बाग्मती प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहेकी शाक्यले यो विषयलाई विवादको विषय भने बनाइसकेकी छैनन् । तर, प्रशिक्षणमा सम्बोधनका क्रममा भने उनले घुमाउरो पारामा पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै एमाले त्यागेर एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेकी छन् । आफ्नो सम्बोधनका क्रममा पार्टी अध्यक्ष ओलीले भने नेपालमाथि चर्काे गालीगलौजमा उत्रँदै एमालेमा नेपाललाई कुनै ठाउँ नभएको भनाइ राखे ।

एमाले काठमाडौंले गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले २ जेठ २०७५ लाई मानेर अघि बढ्नुको विकल्प नरहेको बताएकी थिइन् । ‘यसमा जालझेल आवश्यक छैन । २ जेठ २०७५ मा जो जो आउँछ, उसैलाई मानेर अगाडि बढौं,’ उनले भनिन् । त्यसभन्दा अघि बढेर उनले भनिन्, ‘विभाजनले कसैको हित गर्दैन, सुदृढ एमाले बनाउन फराकिलो मन बनाएर अघि बढौं ।’

प्रशिक्षण कार्यक्रममा उनले पार्टी अध्यक्षको नाम नलिइकन पार्टी नेतृत्व भनेर अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । नवौं महाधिवेशनपछि व्यवस्थित रूपमा वैचारिक प्रशिक्षण नदिँदा पार्टी अराजकतातिर गएको उनको भनाइ थियो ।

‘जब प्रशिक्षण र वैचारिक छलफलको अभाव हुन्छ, पार्टी कमिटी अराजकतातिर जान्छ, विचार शून्य हुन्छ, गुटबन्दी मौलाउँछ,’ शाक्यले भनिन्, ‘हामी अहिले यसैको सिकार भएका छौं, अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।’

उनले कार्यक्रममा पार्टी जनमतको सम्मान गर्न पनि चुकेको धारणा राखिन् । ‘हामीलाई झन्डै जनताले दुई तिहाइको बहुमत दिएको थियो, केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति रहेको थियो तर अहिले यो स्थिति छैन, पार्टीले जनमतको सम्मान गर्न सकेन । फेरि पनि चुनावमा जानुपर्छ, हामी फुट्नुहुँदैन भन्ने कुरा मनमा राखेनौं, पछि जेजे पर्छ, पर्छ भन्ने ढंगले सोच्यौं ।’ राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*